म्याद गुज्रिएका ‘सप्लिमेन्ट’ मा नक्कली लेबल

म्याद गुज्रिएका ‘सप्लिमेन्ट’ मा नक्कली लेबल
सुन्नुहोस्

विराटनगरमा म्याद गुज्रिएका खाद्यपुरक (न्यूट्रास्युट्रिकल) सामग्रीमा खुलमखुल्ला नयाँ लेबल टाँसेर बिक्री गरिएको छ । राजस्व अनुसन्धान कार्यालय इटहरी र प्रदेश प्रहरीको संयुक्त टोलीले विराटनगर–५, भूमिमार्गस्थित एक थोक व्यापारीको गोदाममा छापा मार्दा उक्त तथ्य बाहिरिएको छ । 

सो क्रममा व्यापारी विपिन झाले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्दै म्याद सकिएको खाद्यपुरक सामग्रीमा उत्पादन र उपभोग मिति मेटाई नक्कली लेबल टाँसेर बेचबिखन गर्ने गरेको भेटिएको हो । भूमिमार्गस्थित आफ्नै घरमा गोदाम बनाएर खाद्यपुरक सामग्रीको थोक व्यापार गर्दै आएका उनी ‘न्युट्रास्युटिकल’ एसोसिएसन मोरङका अध्यक्षसमेत हुन् ।

प्रहरीका अनुसार उनले अवैध रुपमा आयात गरिएका खाद्यपुरक सामग्रीहरु भण्डारण गरेर नक्कली लेबल टाँसेर बजारमा पठाउँदै आएका थिए । उनलाई प्रहरीले अस्ति साँझ रंगेहात फेला पारेको हो । त्यसपछि राजश्व कार्यालयले झाको गोदाम शिलबन्दी गरेर तीन दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएपनि उनी उपस्थित भएका छैनन् । 

राजश्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत रामप्रसाद लुईँटेलका अनुसार व्यापारी झाले नक्कली कागजात प्रयोग गरेर अनुमति नै नभएको खाद्यपुरक सामग्री आयात गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको छ ।

यसबारे राजश्व अनुसन्धान र प्रहरीको टोलीले भन्सार प्रज्ञापन पत्र मगाएर थप अनुसन्धान गरिरहेको बुझिएको छ । एक हप्ताअघि खाद्यपुरक सामग्री तस्करी गरेर ल्याउँदै गर्दा पक्राउ परेका भारतीय नागरिकले प्रहरीलाई दिएको सूचनाअनुसार झाले अन्य साना थोक र खुद्रा त्रिक्रेताहरुलाई बेच्दै आएका छन् । 

उनले एक दशकदेखि यस्तो अवैध धन्दा गर्दै आएको अनुसन्धानमा संलग्न स्रोतको दाबी छ । झाले आफनो साक्षी मेडिकलमार्फत् भारतबाट न्युट्रास्युटीकल सस्तोमा ल्याउने र आफैंले १० गुणा बढी मूल्य तोकेर नेपालका विभिन्न औषधि पसलमा पठाउने गरेको आरोप छ ।  

धेरै खाद्यपुरक सामग्री भरिया प्रयोग गरेर तस्करीमार्फत् नेपाल भित्र्याउने गरेका उनले विशेष केमिकल प्रयोग गरेर उत्पादन र उपभोग मिति मेटाउने गरेको तथ्य पनि खुलेको छ । आफैले अधिक मूल्य तोकेर नक्कली लेबल लगाउने गरेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

के हो खाद्यपुरक सामग्री ?

‘न्युट्रास्युटीकल’ (खाद्यपुरक ) सामग्री औषधि नभएर एक प्रकारको भिटामिन हो । यसलाई चिकित्सकहरुले नै बिरामीका लागि सिफारिस गर्छन् । यो झोल, क्याप्सुल र टयाब्लेट सबै प्रकारका हुन्छन् । 

लामो समय एन्टिबायोटिक सेवन गरेपछि शरीर कमजोर नहोस् भनेर विदेशमा बिरामीले चिकित्सकहरुको निगरानीमा खाद्यपुरक सामग्री प्रयोग गर्दछन । तर, नेपालमा कानुनतः औषधि व्यवस्था विभागमा दर्ता नहु्ने भएकाले फार्मेसी पसलहरुले खाद्यपुरक सामग्री बिक्री गर्न पाउँदैनन् । 

यद्यपि, सम्बन्धित निकायले अनुमगन नगर्दा पछिल्लो समय अधिकांश औषधि पसलमा खुलेआम खाद्यपुरक सामग्री बिक्री हुने गरेको छ । विराटनगरका साथै कोशी प्रदेशका प्रायः ठूला–साना औषधि पसलसहित अस्पतालभित्रकै फार्मेसीमा समेत त्यस्ता सामग्रीको खुला बिक्री हुँदै आएको छ ।

औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल अनुगमन नहुँदा खाद्यपुरक सामग्रीको दुरुपयोग बढेको बताउँछन् । उनले भने, ‘औषधि व्यवसायलाई व्यवस्थित गराउन लागिपरेका हामीहरु नै आजित भइसकेका छौँ । निरन्तर अनुगमन र कारबाही नहुँदा खाद्यपुरक सामग्रीको नेपालमा व्यापक दुरुपयोग भइरहेको छ ।’

टिप्पणीहरू