पाका पत्रकारले पेन्सन पाउने
नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न कोष खडा गर्ने भएको छ ।
कोष निर्माण तथा सञ्चालनको कार्यविधि बनाउन पूर्वअध्यक्षहरु दिलिप खत्री, दमन राई र डम्बर सिंहलाई जिम्मा दिइएको छ । हिजो बसेको बैठकले ७० वर्ष कटेका पत्रकारलाई पेन्सन दिने निर्णय गरेको सचिव राजकुमार भट्टराईले बताए ।
त्यसैगरी, पत्रकारहरुलाई समस्या परेको बेला सहयोग गर्न स्थापना गरिएको पत्रकार विपद् कोषलाई थप व्यवस्थित बनाइने उनले जानकारी दिए । भट्टराईका अनुसार बैठकले यसवर्ष आधारभूत पत्रकारिता तालिमको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
महासंघ जिल्ला शाखाको भवन निर्माणका लागि शहरी विकास तथा भवन कार्यालय, ओखलढुंगामार्फत कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।
टिप्पणीहरू