प्रधानमन्त्री केपी ओलीलाई ‘खड्गप्रसाद’ भन्नासाथ निलम्बित
पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा मनपरी लेखेको आरोपमा नेकपा (एमाले) का नेता तथा पूर्व प्रदेश सांसद विमल कार्की कारबाहीमा परेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको मानहानी हुनेगरी स्ट्याटस लेखेको आरोपमा उनलाई निलम्बन गरिएको हो । कार्कीलाई ६ महिनाका लागि पार्टी सदस्यबाट हटाइएको एमालेले जनाएको छ ।
उनले केही महिनाअघि सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष ओलीको नागरिकतावारे प्रश्न उठाएका थिए । कोलम्बिया काण्डमा ओलीको नागरिकताको तस्बिर पोष्ट गर्दै उनले ‘खड्गप्रसाद ओली’ र ‘केपी शर्मा ओली’ फरकफरक हुन् कि एउटै भनी खुलाइदिन आग्रह गरेका थिए ।
एउटै मान्छेले दुई वटा नागरिकता प्रयोग गरेको हो कि नागरिकताजस्तै मान्छे पनि फरक फरक नै हुन् ? कसैले तथ्यसहित बुझाइदिनुहुन्थ्यो कि !’
‘२०४८ को आम चुनाव र ०५१ को मध्यावधि निर्वाचनमा तत्कालीन झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद तथा २०५१ को मनमोहन अधिकारी प्रधानमन्त्रीत्वको सरकारमा भएका गृहमन्त्री र अहिलेका प्रधानमन्त्री एउटै हुन् भनेर नेपाली राजनीतिमा चासो राख्ने सबैले यकिनका साथ भन्दछन्’,उनले लेखेका छन्,‘तर, तत्कालीन झापाली सांसद तथा गृहमन्त्रीको नागरिकतामा र त्यो बेलाका सरकारी दस्तावेजहरुमा खड्गप्रसाद ओली भनेर लेखिएको छ । अनि अहिलेका प्रम भनेर सामाजिक सञ्जालमा भाइरल बनेको नागरिकतासम्बन्धी भिडियोमा केपी शर्मा (ओली) भनेर लेखिएको छ । मैले बुझ्न चाहेको कुराः एउटै मान्छेले दुई वटा नागरिकता प्रयोग गरेको हो कि नागरिकताजस्तै मान्छे पनि फरक फरक नै हुन् ? कसैले तथ्यसहित बुझाइदिनुहुन्थ्यो कि !’
पार्टी अनुशासन उल्लंघन गरेपछि प्रदेश कमिटीले उनलाई स्पष्टीकरण सोधेको थियो । तर,जवाफ चित्तबुझ्दो नभएको भन्दै पछिल्लो सचिवालय बैठकले कारबाहीको निर्णय गरेको थियो । सो निर्णयलाई प्रदेश कमिटी बैठकले अनुमोदन गरेसँगै कार्की निलम्बनमा परेका हुन् ।
एमालेले गत मंसिरमा अर्का एक जना माननीयमाथि पनि जथाभावी बोलेको आरोपमा अनुशासनको कारबाही गरेको थियो । बाँके १(ख) बाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद दुर्गाप्रसाद चौधरीलाई एमालेले सदस्यताबाट निलम्बन गरेको हो ।
उनीमाथि पार्टीको मूल्य,मान्यताविपरीत अध्यक्ष ओली र महासचिव शंकर पोखरेललाई गालीगलौज गरेको, सामाजिक सञ्जालमा नेतृत्वको चरित्रहत्या हुनेगरी सामग्री पोष्ट गरेको आरोप लगाइएको थियो ।
टिप्पणीहरू