प्रधानमन्त्रीद्वारा फेरि काटियो होटलको रिबन
496 shares
निजी क्षेत्रका होटल उदघाटनमा अतिरिक्त रुचि देखाउँदै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि अर्को एउटा होटलको रिबन काट्नुभएको छ । सुकेधारास्थित मर्क्युर होटलको उहाँले आज औपचारिक उद्घाटन गर्नुभएको हो ।
तीन अर्ब लगानीमा एबी होल्डिङ्सले निर्माण गरेको उक्त होटलको ब्राण्ड इटालियन स्वादको लागि अन्तर्राष्ट्रिय बजारमा चर्चित छ । सरकारको आधा वर्षे कार्यकालमा प्रधानमन्त्री ओलीको हातबाट उदघाटन गरिएको यो चौथो होटल हो ।
यसअघि गत असोज २३ गते उहाँले आफ्नै क्याबिनेट मन्त्री दिपक खड्काको लगानीमा खुलेको पाँचतारे होटल शुभारम्भ गर्नुभएको थियो । बूढानीलकण्ठ नगरपालिका–१ मुहानपोखरीस्थित होटल ‘होलिडे इन’ को एक भव्य समारोहबीच ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा सांसद सशांक कोइरालाको कोटाबाट मन्त्री बनेका संखुवासभाका खड्का आफैँमा विवादित पात्र हुन् । जलविद्युतमा ठूलो लगानी गरेका उनीमाथि बैंकको अर्बौं ऋण नतिरेको आरोप लाग्दै आएको छ । करोडौँ मूल्यको लैनचौरस्थित नेपाल स्काउटको जग्गा र भवन भाडामा अनियमितता गरेको अभियोगसँगै चेक बाउन्सको मुद्दा पनि यथावत छ ।
नेपाली काँग्रेसभित्रको समीकरण मिलाउने नाममा आरोपको भारी बोकेरै मन्त्री बन्न सफल भएका खड्का अहिले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने अभियानमा छन् ।
त्यसअघि प्रधानमन्त्री ओलीले यस्तै विवादित व्यक्तिको लगानीमा खुलेका दुई वटा होटल आफ्नै हातले उद्घाटन गर्नुभएको थियो । भदौ २९ गते बूढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरको शुभारम्भ ओलीबाट गराइएको थियो ।
उक्त होटलका मुख्य सञ्चालकहरुमा बाबुकाजी कार्की,डा. राजेन्द्र केसी, अम्बिका पौडेल,हरिप्रसाद पाठक, नवराज बुर्लाकोटी,दीपक पाण्डे,जनक भट्ट,दिपेन्द्र श्रेष्ठ र जलेश्वर पाण्डे छन् । उनीहरुमध्ये केही सेयर बजारका नामुद खेलाडी हुन् ।
प्रधानमन्त्री नियुक्त भएको केही दिनमै ओलीले नक्सालस्थित होटल हिल्टनको उद्घाटन गर्नुभएको थियो । कोरोना महामारीमा ‘थर्मल गन’ काण्ड मच्चाएका र विभिन्न विवादमा मुछिएका शंकर ग्रुपका साहिल अग्रवाल सो होटलका मालिक हुन् ।
विद्युत प्राधिकरणको डेडिकेटेड ट्रंकलाइन महशुल भुक्तानी विवादमा शंकर ग्रुपलाई पर्दा पछाडिको खेलाडी मानिन्छ । साउन दोस्रो साता भएको होटल उद्घाटनमा प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत उच्चपदस्थ अधिकारीहरुको लाइन लागेको थियो ।
496 shares
टिप्पणीहरू