अस्पताल ठहरै हुने दिन आउँदै

अस्पताल ठहरै हुने दिन आउँदै
सुन्नुहोस्

सरकारद्वारा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमले बिरामीलाई राहत दिए पनि अस्पताललाई भने समस्याको भारी छ । बिमाले बिरामीलाई उपचार खर्चमा राहत दिँदा अस्पतालले भुक्तानी पाएको छैन ।

रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले, चौरजहारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारी, शहीद स्मृति नगर अस्पताल चौरजहारी, आठबिसकोट नगर अस्पताल र सानीभेरी गाउँपालिका अस्पतालमा प्रथम सेवा बिन्दु कायम गरेर स्वास्थ्य बिमा गरिएको छ । यहाँबाट बिरामीहरूले सेवा लिने गरेतापनि अस्पतालले भने सरकारबाट नौ करोड १८ लाख ६१ हजार रुपैयाँ भुक्तानी पाएका छैनन् । जिल्ला अस्पताल सल्लेका प्रमुख डा. महेश चौलागाईंका अनुसार बिमाबापतको करिब एक करोड २५ लाख रुपैयाँ आउन बाँकी छ । अघिल्लो आर्थिक वर्षकै २३ लाख रुपैयाँ भुक्तानी भएको छैन भने ०८१ / ८२ को रकम पनि पाइएको छैन ।

स्वास्थ्य बिमामार्फत सबैभन्दा बढी उपचार सेवा लिने चौरजहारी अस्पतालले पनि पाँच करोड ५३ लाख ६२ हजार ३८६ रुपैयाँ पाउन बाँकी रहेको जनाएको छ । अस्पताल प्रशासक डिलबहादुर गिरीका अनुसार वैशाखदेखि हालसम्मको रकम नपाउँदा समस्या हुन थालेको छ । १२५ जना कर्मचारीले तलबसमेत पाउन नसकेको गिरीले जनाए । चौरजहारी अस्पतालमा वार्षिक एक लाख बढी बिरामीले सेवा लिने गरेको र त्यसमध्ये ७४ प्रतिशतले स्वास्थ्य बिमामार्फत सेवा पाउने गरेको तथ्यांक छ ।

चौरजहारीकै शहीद स्मृति नगर अस्पतालमा वैशाखदेखि हालसम्मको ५५ लाख ६४ हजार ४३५ रुपैयाँ भुक्तानी भएको छैन भने प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीमा २६ हजार पाँच सय भुक्तानी बाँकी छ । त्यसैगरी, आठबिसकोट नगर अस्पतालमा पनि हालसम्म एक करोड ५१ लाख रुपैयाँ भुक्तानी भएको छैन । सानीभेरी गाउँपालिका अस्पतालमा वैशाखदेखि हालसम्मको ३३ लाख सात हजार ७१४ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको अस्पताल प्रमुख कर्णवीर केसीले जानकारी दिए ।

स्वास्थ्य बिमा बोर्डका संयोजक कमल डाँगीले जिल्लाका ६ वटै पालिकामा २० हजार ८८४ घरधुरीका ८५ हजार ७८८ जनाको स्वास्थ्य बिमा गरिएको जानकारी दिए । ०७४ साल जेठ १ गतेदेखि सञ्चालित यो कार्यक्रम जनस्तरमा प्रभावकारी देखिएको उनको भनाइ छ । सरकारले ज्येष्ठ नागरिक, ‘क’ वर्गको अपांगता भएका व्यक्ति, एचआइभी संक्रमितलाई स्वास्थ्य बिमा निःशुल्क गरेको छ भने महिला स्वयमसेविकालाई ५० प्रतिशत छुटमा स्वास्थ्य बिमा गरिदिन्छ । डाँगीका अनुसार रुकुम पश्चिममा ४ हजार ९ सय ८० जना ज्येष्ठ नागरिक, १८४ जना अपांगता भएका व्यक्ति र ६२ जना एचआइभी संक्रमितको स्वास्थ्य बिमा निःशुल्क र १ सय २४ महिला स्वास्थ्य स्वयंसेविकालाई शुल्कमा ५० प्रतिशत छुट दिइएको छ ।

टिप्पणीहरू