मकवानपुरमा देउवापक्ष बलियो
तत्कालीन खुमबहादुर खड्का प्यानल भनेर चिनिएका मकवानपुर काँग्रेस सभापति इन्द्रबहादुर बानियाले जिल्लामा रहेका प्रदेश निर्वाचन क्षेत्रहरुको नेतृत्व आफ्नो पकडमा पारेका छन् । खड्काको निधनपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा खुल्नेपछि बानिया र त्यस अघिदेखि नै देउवापक्षकै भनेर चिनिएकी केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायको सक्रियताको परिणाम प्रदेशसभा निर्वाचन क्षेत्रमा देखिएको बताइन्छ ।
पार्टीको १४ औँ महाधिवेशनको सन्दर्भमा शुक्रबार भएको मकवानपुरका चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा संस्थापन पक्षधर उम्मेदवार जिताउन बानिया र उपाध्यायसहितको टिम सफल भएको हो । मकवानपुर क्षेत्र नम्बर १ को ‘क’ मा सुशान्तकुमार श्रेष्ठसहितका पदाधिकारी र कार्यसमिति निर्विरोध भएको छ भने बाँकी तीनवटै निर्वाचन क्षेत्रमा देउवापक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।
क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा सभापति देउवा पक्षका राजेश बानियाले १७७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रस्तिपर्धी उम्मेदवार रमेशध्वज कार्कीले ८३ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर २ ‘क’ को सभापतिमा देउवापक्षीय उम्मेद्वार खड्गबहादुर गोपाली निर्वाचित भएका छन् । उनले ३७० मत प्राप्त गर्दा प्रतिस्पर्धी तथा देउवाइतर समूहका सुजन गोपालीले १३२ मत प्राप्त गरेका छन् । गोपाली थाहा नगरपालिकाका उपमेयर हुन् ।
मकवानपुर क्षेत्र २ ‘ख’ को सभापतिमा रञ्जन कालाखेती निर्वाचित भएका छन् । देउवापक्षीय कालाखेतीले २९२ मत पाउँदा अर्को पक्षबाट उम्मेदवार बनेका रामकृष्ण प्रजाले २२३ मत पाएका छन् ।
भोलि सोमबार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिको नेतृत्वका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा पनि देउवा र गैरदेउवापक्षीय उम्मेदवारहरु होमिने पक्का छ । मकवानपुरमा चुनिएका १ हजार ९ सय ५० भन्दा बढी काँग्रेसका बुथ प्रतिनिधिहरुमध्ये ७० प्रतिशत प्रतिनिधिहरु सभापति देउवापक्ष रहेको बताइन्छ ।
उक्त दाबीलाई गलत साबित गर्न गैरदेउवापक्षीय नेताहरुको होमवर्क तीव्र देखिन्छ । केही दिनदेखि भएको दौडादौड र छलफललाई नजिकबाट नियालेका एक जना काँग्रेसी नेताले भने, ‘आन्तरिक चुनावमा समेत काँग्रेसी उम्मेदवारहरुले उल्लेख्य आर्थिक लगानी गरेको पाइयो ।’
टिप्पणीहरू