अभियन्ता तारा बराल ७ दिनदेखि गुमनाम,अज्ञात ठाउँमा आमरण अनशन बसेको दाबी
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको पक्षमा नाराबाजी,जुलुस र धर्नाको नेतृत्व गर्दै आएकी तारा बराल एक सातादेखि गुमनाम छिन् । अघिल्लो सातासम्म सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका वकिलहरुले बोकेका प्लेकार्ड थुत्ने क्रममा प्रहरीले पटक पटक पक्रेका उनी एक सातादेखि बेपत्ता भएकी हुन् ।
नेपाल बारको आन्दोलन र सर्वोच्चका न्यायाधीशहरुको बेञ्च बहिष्कार कार्यक्रम गैरकानुनी भएकाले उनीहरुमाथि कारबाही गर्नुपर्ने माग राख्दै बराल र उनको समूहले आन्दोलन गर्दै आएको थियो । पछिल्लो दिन भद्रकालीमा अनसन बस्न खोज्दा प्रहरीले अवरोध गरेपछि बराल बेपत्ता भएको उनी निकट स्रोतले बताएको छ ।
स्रोत भन्छ,उनी अहिले अज्ञात स्थानमा आमरण अनसन बसेकी छन् । आफ्ना मागहरु लेखिएको ब्यानर झुण्ड्याएर चिसो छिँडीमा अनसन बसेकी ताराको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको बताइएको छ । उनी कात्तिक ३० गते साँझदेखि अज्ञात स्थानमा आमरण अनसन बसेकी हुन् ।
उनले सर्वोच्च अदालतलाई पूर्णरुपमा तत्काल सुचारु गर्न, बारको कार्यालय अघिल्तिर महिलामाथि दुर्व्यवहार गर्ने र अपशब्द बोल्ने वकिलहरुलाई कारबाही,एमसीसीको पूर्ण खारेजी र नागरिकता विधेयकको समेत पूर्ण खारेजीको माग राखेको बुझिएको छ ।
यसअघि उनी बिजुलीबजार नजिकै पुलछेउको घरमा बस्दै आएकी थिइन् । बराल भाडामा बस्दै आएको घर हाल अमेरिका बस्ने सुरेन्द्र खत्रीको हो । उनी खत्रीको घरको चौथो तलामा बस्दै आएकी थिइन् ।

टिप्पणीहरू