एमाले महाधिवेशनको आज पूर्वाङ्ग

एमाले महाधिवेशनको आज पूर्वाङ्ग

असार मासको किसानलाई जस्तै नेकपा एमालेका नेता–कार्यकर्तालाई दशौँ राष्ट्रिय महाधिवेशनको चटारोले झ्याप्पै छोपेको छ । चितवन जान तीन दिन मात्र बाँकी रहँदा महाधिवेशनको तयारीले एमालेजनलाई व्यस्त बनाएको हो ।

विवाहको अघिल्लो दिन बिहे घरमा हुने चटारोजस्तै छ एमालेमा । कोही आफू निकट नेताको उम्मेदवारीको प्रचारमा जुटेका छन् भने कोही व्यवस्थापकीय खटन–पटन र प्रचारमा लागेका छन् । भावी नेतृत्वबारेको बहस र चर्चा परिचर्चा त हुने नै भयो ।

यसैबीच मूल व्यवस्थापन समितिले आजदेखि महाधिवेशन केन्द्रित कार्यक्रम शुरु गरेको छ । समितिले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत आज अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई राखेर महाधिवेशनको सन्दर्भमा सञ्चारमाध्यमका सम्पादकहरुसँग कुराकानीको मेलोमेसो मिलाएको हो ।

काठमाडौंको बानेश्वरमा भएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनबाट आफू पुनः अध्यक्षमा दोहोरिने संकेत गर्नुभएको छ । एउटै कक्षा दोहोर्याएर नपढ्ने आफ्नै पुरानो घोषणा विपरित अध्यक्ष उठ्ने तयारीमा रहनुभएका ओलीले आफूले उम्मेदवारी दिनसक्ने बताएर त्यस्तो संकेत गर्नुभएको हो । यद्यपि उहाँले अहिलेसम्म उम्मेदवारी नदिएको प्रष्ट पार्नुभएको छ ।

उहाँले लोकतान्त्रिक प्रतिस्पर्धामा कसैलाई बन्देज लगाउन नमिल्ने भन्दै उपाध्यक्ष भीम रावलको उम्मेदवारीलाई आफूले सहज रुपमा लिएको पनि बताउनुभएको छ । पार्टीमा समझदारी, सहमति र एकता महत्वपूर्ण हुनेमा भने ओलीले जोड दिनुभएको छ ।

आफ्ना हरेक भाषणमा विपक्षीमाथि तिखो प्रहर गर्ने ओलीले आज रावलमाथि व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो । अध्यक्षमा उम्मेदवारी घोषणा गरेर रावलले चुनौती नभई आफूप्रति माया र सम्मान देखाएको भन्दै उहाँले व्यङ्ग्य कस्नुभएको हो ।

प्रतिस्पर्धाको निम्ति सबैलाई छुट भएको भन्दै सहमतिका नाममा कसैलाई करकाप नगर्ने भन्नुभएका ओलीले आफूले मन पराएको नेता नै वरिष्ठ उपाध्यक्ष र महासचिव निर्वाचित हुने बताउनुभयो । अन्य पदमा पनि त्यहि हुने ओलीको भनाइ छ ।

एमालेले मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्दैछ । नारायणीको किनारमा महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको एमालेले नेतृत्व छनौट भने पर्यटकीय क्षेत्र सौराहामा गर्ने छ ।

टिप्पणीहरू