जनगणना नेपालको,‘हाइ अलर्ट’ भारतको
भारतीय रक्षामन्त्री राजनाथ सिंहले सीमावर्ती भारतीय जिल्ला पिथौरागढ पुगेर नेपालसँग मित्रताको वर्णन गरिरहँदा हाम्रो सरकारी पक्ष र जनस्तरले भने असहयोग र दुर्ब्यवहार खेप्नुपरेको छ । अघिल्लो साताबाट शुरु भएको राष्ट्रिय जनगणनाप्रति भारतीय प्रशासन त्रसित र सशंकित बनेको छ ।
अतिक्रमित नेपाली भूमिमा पर्ने गुञ्जी,नाभी र कुटी गाउँमा जनगणनाको चर्चा भएपछि सीमाक्षेत्रमा भारतीय प्रशासन र सुरक्षा निकाय ‘हाइ अलर्ट’ मा बसेका छन् । नेपालको जनगणनालाई लक्षित गरेर भारतीय प्रशासन,सुरक्षा निकाय र गुप्तचरहरु सक्रिय बनेको देखिन्छ ।
भारतीय अखबार हिन्दुस्तान दैनिकले नेपाल सरकारले घुसपैठ गरी गुञ्जी,नाभी र कुटी गाउँको जनगणना गर्ने तयारी गरेको समाचार लगातार छाप्दै आएको छ । व्यास गाउँपालिका १ मा पर्ने छाङरु र टिंकर गाउँको जनगणनाका लागि टोली खटाउन लागेकोमा भारतीय प्रशासनले भारतको बाटो भएर व्यासक्षेत्रतर्फ जान दिएको छैन । छाङरु र टिंकरको नाममा गुञ्जी,कुटी र नाभी गाउँमा पनि नेपाली टोलीले जनगणना गर्ने भारतीय पक्षको आशंका छ । भारतीय गुप्तचर संयन्त्रको हवाला दिँदै हिन्दुस्तान दैनिकले यसबारे समाचार लेखेको हो ।
हिन्दुस्तान दैनिकले नेपाल सरकारले घुसपैठ गरी गुञ्जी,नाभी र कुटी गाउँको जनगणना गर्ने तयारी गरेको समाचार लगातार छाप्दै आएको छ ।
दार्चुला जिल्ला प्रशासनले व्यासको छाङरु र टिंकर जाने जनगणना टोलीलाई भारतीय बाटो हिँड्ने अनुमति दिन पिथौरागढ जिल्ला प्रशासनलाई पत्राचार समेत गरेको थियो । तर भारतीय पक्षले पत्रको जवाफ नै पठाएको छैन । भारतीय क्षेत्रमा बाटो मर्मतको कार्य भइरहेकाले केही दिनपछि मात्रै उक्त क्षेत्रमा जान सकिने मौखिक जवाफ उसले नेपालको दार्चुला जिल्ला प्रशासनलाई दिएको छ ।
जनगणना टोली व्यास पठाउन भारतीय बाटो हिँड्न नपाएपछि नेपालकै बाटो भएर व्यास पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिध्दराज जोशीले बताउनुभयो । तीन सदस्यीय जनगणना टोली आइतबार व्यासको छाङरु पुगिसकेको छ । मंगलबार टिंकर गाउँमा जनगणना सम्पन्न गरी गणना टोली छाङरु फर्किएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिनुभयो ।
अतिक्रमित नेपाली भूमिमा पर्ने गुञ्जी,नाभी र कुटी गाउँमा जनगणनाको कुनै तयारी नभएको पाण्डेले बताउनुभयो । भारतीय बाटो प्रयोग गरी छाङरु र टिंकर गाउँका लागि मात्रै जनगणना टोली पठाउने प्रयास भएको समेत उहाँको भनाइ छ ।
नेपालतर्फको व्यास जोड्ने पैदलबाटो ठाउँ ठाउँमा भत्किएको छ । नेपालतर्फ पैदल हिँडडुल गर्न समेत असम्भवप्रायः छ । जोखिम मोलेर जनगणना टोली व्यास पठाइएको जनगणना कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो । भारततर्फ भने महाकाली नदीको किनारमा सडकमार्ग खुलाइएको छ । अतिक्रमित नेपाली गाउँहरु गुञ्जी,नाभी र कुटीसम्म सडक पुर्याइएको छ । व्यास गाउँपालिका १ छाङरु गाउँको पारी गर्ब्याङ क्षेत्रमा पनि सडक पुगेको छ ।
नेपालतर्फको पैदल बाटो मर्मत हुन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत भौतिक पूर्वाधार विभागले गत आर्थिक वर्षमा ३ करोड ३२ लाख रुपैयाँको बाटो मर्मत र सञ्चालनको ठेक्का सम्झौता गरे पनि हालसम्म कुनै प्रगति भएको छैन । व्यासक्षेत्रका बासिन्दाका साथै व्यासक्षेत्र जाने सरकारी कर्मचारीले समेत भारतीय प्रशासनको लिखित अनुमति लिएर भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था विद्यमान छ ।
भारतको धारचुला तहसिलअन्तर्गत छियालेक क्षेत्रभन्दामाथि नोटिफाइड एरिया (निषेधित क्षेत्र) बनाइएको छ । सन् १९६२ को भारत–चीन लडाईंदेखि नै उक्त क्षेत्रलाई निषेधित बनाइएको हो । निषेधित क्षेत्रमा नेपाली नागरिक मात्र नभई भारतीय नागरिकलाई समेत भारतीय प्रशासनको लिखित अनुमति बिना प्रवेश गर्न निषेध गरिएको छ । अतिक्रमित नेपाली भूमिमा पर्ने गुञ्जी,नाभी र कुटी गाउँका साथै भारतीय सैनिकको क्याम्प रहेका कालापानी र नाभीढाङग क्षेत्रलाई पनि निषेधित क्षेत्रमा राखिएको छ ।
टिप्पणीहरू