मोरङ काँग्रेसमा कसले मार्दैछ बाजी ?

मोरङ काँग्रेसमा कसले मार्दैछ बाजी ?

-पूजा लम्साल

नेपाली काँग्रेस मोरङको सभापतिका चार आकांक्षीले चुनावी प्रतिस्पर्धाको तयारी गरेका छन् । मंसिर ११ गते हुने जिल्ला समन्वय समितिको अधिवेशनमा वर्तमान सभापति डिकबहादुर लिम्बु, यदुकुमार विष्ट, गोपालमानसिंह राजभण्डारी र दिलिप गच्छेदारले सभापतिमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् ।

जिल्ला सभापतिका चार प्रतिस्पर्धीमध्ये गच्छदार सभापति शेरबहादुर देउवा पक्षका हुन् भने अरु सबै संस्थापन इतर समूहका हुन् । सभापतिका दाबेदार लिम्बुलाई डा. शेखर कोइराला र विष्टलाई महेश आचार्यको साथ रहेको बताइन्छ ।

मोरङमा देउवा पक्ष कमजोर छ । क्षेत्रीय तथा प्रदेश र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा ५ नम्बर निर्वाचन क्षेत्रमा मात्र देउवापक्षका उम्मेदवार विजयी भएका छन् । यसैले जिल्ला समितिमा पनि संस्थापन इतरपक्षका उम्मेदवार नै विजयी हुने अनुमान गरिएको छ ।

तर, संस्थापन इतरपक्षका उम्मेदवारहरु नै आपसी भीडन्तमा उत्रिएको अवस्थामा भने नतिजा अर्को पक्षमा जान सक्ने विश्लेषण पनि गरिएको छ । कूल ३ हजार ४ सय ५५ क्षेत्रीय प्रतिनिधिहरु मतदाता रहेको मोरङमा ६० प्रतिशतबढी संस्थापन इतरपक्षका छन् ।

जिल्ला अधिवेशनमा एक सभापति, दुई उपसभापति, दुई सचिव र ५४ सदस्यसहित जम्मा ५९ पदमा निर्वाचन हुँदैछ । जसमध्ये सात जना समावेशी कोटामा निर्वाचित हुनेछन् । काँग्रेसको विधानमा सबै उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत ल्याउनै पर्ने हुन्छ ।

काँग्रेस मोरङले सभापतिका लागि १० हजार उपसभापति र सचिवका लागि ७ हजार र सहसचिवका लागि छ हजार रुपैयाँ मनोनयन शुःल्क तोकेको छ । महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार, प्रदेश अधिवेशन प्रतिनिधि र सदस्यका लागि तीन–तीन हजार शुःल्क तोकिएको थियो ।

टिप्पणीहरू