जनताको तागतले अर्थमन्त्री भएको हुँ : जनार्दन शर्मा
अर्थमन्त्री तथा एवम् नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले आफू जनताको ताकतले मात्र अर्थमन्त्री भएको बताउनुभएको छ ।
अर्थमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला रुकुम पश्चिम आउनुभएका शर्माले माओवादी केन्द्रका गाउँ तथा नगरपालिकास्तरीय सम्मेलनको उद्घाटनको क्रममा यस्तो बताउनुभएको हो ।
शर्माले आज जिल्लाको त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनको उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रमा अर्थमन्त्री शर्माले संविधानले दिएका अधिकार कार्यान्वयन गर्न लागिपरेको तर विभिन्न तत्वहरुले माओवादीलाई कमजोर पार्न खाजेको बताउनुभयो ।
उहाँले मुलुक माओवादीकै एजेण्डामा आएकोसमेत बताउनुभएको छ । अर्थमन्त्री शर्माले सबै खालका सकारात्मक परिवर्तन माओवादीको एजेण्डा भएकाले परिवर्तनको वाहक पार्टी माओवादी मात्रै भएको दाबी गर्नुभयो ।
उहाँले श्रम, उत्पादन र रोजगार तथा सामाजिक र सांस्कृतिक रुपान्तरण अभियानमार्फत् जनताको जनजीविका सरल बनाउन सकिने भएकाले त्यतातर्फ कार्ययोजना बनाउन समेत अनुरोध गर्नुभएको छ । जनतासँग गरिएका बाचाहरु पूरा गर्न आफू लागि परेको बताउँदै शर्माले आफूले कहिँ कतै बाटो बिराएमा वा गल्ति गरेमा जनताले खबरदारी गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
टिप्पणीहरू