​मन्त्रीले गर्ने, प्रमको थाप्लोमा पर्ने

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका उपप्रधानमन्त्री उपेन्द्र यादवले बदनाम र भ्रष्टहरूको सल्लाहमा निर्णय गर्ने र त्यसको दोष जति सबै प्रधानमन्त्री केपी शर्मा ओलीको टाउकोमा थोपर्ने गरेका छन् ।

उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा त्यसै गरे । आर्थिक अनियमिततामा कहलिएका पूर्वउपकुलपति डा. बलभद्र दासको डिजाइनमा उनी वर्तमान कुलपति डा. आरके रौनियार हटाउने खेलमा लागेका छन् । त्यसका लागि उनले कानुनविपरीत मंसिर ५ गते सिनेटको बैठक बोलाउन पत्र पठाएका छन् । जुन पत्र तिहारको बिदाका दिन कात्तिक २० गते अपराह्न ५ बजे उपकुलपतिको इमेलमा पठाए ।

सामान्यतया बिदाका दिन पत्र पठाए पनि बुझेपछि मात्र त्यसको कानुनी हैसियत हुन्छ । सिनेट बैठक राख्नका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नियमावली २०५५ को नियम ३.४ मा परिषद्को बैठकसम्बन्धी कार्यविधि छ । जसअनुसार उपनियम (२) सहकुलपतिको अनुमति लिई उपकुलपति (सदस्यसचिव) ले बैठकको विषय सूची, बैठक बस्ने ठाउँ र मिति, समयको सूचना बैठक बस्ने दिनभन्दा २१ दिन अघि नै सम्बन्धित सदस्यलाई लिखित रूपमा यथासक्य छिटो पुग्नेगरी पठाउनुपर्नेछ भन्ने कानुनी व्यवस्था छ । तर, स्वास्थ्य मन्त्रालयले कात्तिक २० गते कार्यालय समयपछि सिनेटको बैठक मंसिर ५ गते राख्न पत्र पठाएको थियो । २१ गतेदेखि २३ गतेसम्म सार्वजनिक बिदा थियो । त्यो पत्र उपकुलपति रौनियारले २५ गते मात्र बुझे । कात्तिक २५ मा पत्र प्राप्त गरेका भिसी रौनियारले मंसिर ५ मा सिनेट बैठक राख्न सम्भव नभएकाले बैठक बोलाउनेबारे पुनर्विचार गर्न मन्त्रालयमा निवेदन दिने भएका छन् । 

पूर्वभिसी दास र उनको समूहका वर्तमान रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण माफिया चेतन अग्रवाल र विशाल पण्डितहरू डा. उपकुलपति हटाउने अभियानमा आर्थिकदेखि सबै कुरा परिचालनमा जुटेका छन् । उनीहरूले मन्त्री यादवका निजी सचिव भवनाथ खतिवडालाई प्रयोग गरेका छन् । खतिवडा पूर्वस्वास्थ्यमन्त्री दीपक बोहराका पनि पिए थिए । उनले विगतमा बोहरालाई पनि यसैगरी कानुनविपरीत सिनेट बोलाउन सल्लाह दिएका थिए । तर, त्यतिबेला जनमत गुमाइसकेको शेरबहादुर देउवा सरकारका मन्त्री बोहराले सिनेट बोलाउन दिएको दबाब भिसी रौनियारले पालना गरेनन् । अहिले ठ्याक्कै त्यही शैलीमा कानुनविपरीत सिनेट बैठक बोलाउन तिनै खतिवडाको सल्लाहमा मन्त्री यादवले दबाब दिएका छन् । मन्त्री यादव बिपी डुबाउने पूर्वभिसी दाससहितको भ्रष्ट समूहको जालमा परेका छन् ।

मन्त्री यादवका भतिजा नाता पर्ने सुनसरीका मनोज यादवले उपकरण माफियाबाट उपकुलपति रौनियारलाई हटाउने गरी एडभान्स समेत बुझिसकेको चर्चा छ । उपकरण माफिया अग्रवाल र पण्डित बिपी स्वास्थ्यमा मनपरी स्पेसिफिकेसन बनाएर एक करोडको उपकरण १० करोडमा बिक्री गर्न नपाएपछि शुरुमा उपकुलपति फाल्ने अभियान पूरा गर्ने खेलमा छन् । त्यसपछि पण्डित अरविन्दलाई भिसी बनाउने र अग्रवाल गुरु खनाललाई बनाउने पक्षमा छन् । भिसी रौनियार हटाउनका लागि कुनै आरोप छैन । खाली माफियाहरूको इशारामा नचलेका कारण उनलाई हटाउन लागिएको कुरा प्रधानमन्त्री ओलीले पनि बुझेका छन् । उपकुलपति रौनियार मधेसी समुदायका भएकाले मन्त्री यादवले आफूले हटाउन नचाहेको तर प्रधानमन्त्री ओलीले नै हटाउन खोजेको भन्ने गरेका छन् । तर, प्रधानमन्त्री डा. रौनियारले बिपी स्वास्थ्य प्रतिष्ठानमा सुधार गर्न खोजेको, भ्रष्टाचारको जालो तोडेकाले हटाउनु नहुने पक्षमा छन् । तर, मन्त्री यादवले प्रधानमन्त्रीले हटाउन खोजेको भनेर बदनाम गर्दै डा. बलभद्र दासहरूको योजनामा डा.अरविन्द सिंह वा गुरु खनाललाई भिसी बनाउने खेलमा लागेका छन् । उनीहरूलाई भिसी बनाउन मनोज यादवले एडभान्स बुझिसकेको चर्चा मन्त्रालयमा छ ।  

पूर्वभिसी दास, वर्तमान निर्देशक तुलबहादुर श्रेष्ठ, पूर्वनिर्देशक डा. गुरु खनाल, पूर्व निर्देशक अरविन्द सिन्हाले मातृशिशु भवन, दुई सय शøयाको कार्डियोलोजी भवन तथा अंकोलोजी भवनहरू र नेपाल फाइनान्सियल स्ट्यान्डर्डको ठेक्का दिँदा गरेको अनियमितताको शृंखला नै छ । बिपी दास र तुलबहादुर श्रेष्ठ र ठेकेदारहरूबीच कै सेटिङमा चार सय शøयाको मातृशिशु भवन, दुई सय शøयाको कार्डियोलोजी भवन तथा अंकोलोजी भवनहरू निर्माण गर्नका लागि सिनेटले स्वीकृत गरेको ७६ करोड लागत स्टिमेटलाई लत्याएर दुई अर्ब ४९ करोडमा ठेक्का दिएका थिए । यो ठेक्का सेटिङमा दिन १२ पटकसम्म बिपी दास र तुलबहादुरहरूको गिरोहले टेण्डर संशोधन गरेका थिए । शर्मा एण्ड कम्पनी र रसुवा कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चरमा दिइएको दुई अर्ब ४९ करोडको निर्माण ठेक्कामा खुलेआम भ्रष्टाचार गरिएको तथ्य ठेकेदार कम्पनीले निर्माण सामग्रीको दरभाउ (दररेट) सुनसरी जिल्लाको नराखी काठमाडौंको दररेट राखेर टेण्डर हालेका थिए । 

५–१० हजार घुस खाने खरिदार नासु पक्राउ गर्ने अख्तियारले यति ठूलो भ्रष्टाचारमा छानबिन गरी मुद्दा चलाउन सकेको छैन । दुई अर्ब ४९ करोडको निर्माण ठेक्कामा खुलेयाम भ्रष्टाचार गरिएको विषय व्यापक रूपमा उठेपछि यस सम्बन्धमा प्रधानमन्त्री तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी ओलीले सचिव केदारबहादुर अधिकारीको संयोजत्त्वमा छानबिन समिति गठन गर्ने गरेका थिए । उक्त समितिले २०७५ भदौ १७ गते प्रतिष्ठानका कुलपतिसमक्ष पेश गरेको छानबिन प्रतिवेदनमा दोषी किटान गरिएका पूर्वभिसी दास, वर्तमान रजिस्टार श्रेष्ठलगायतमाथि कारबाही गरिएको छैन । उक्त प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा धुलो जमेर बसेको छ । उल्टै मन्त्री यादवले उपसचिव भवनाथ खतिवडाको सल्लाहमा तिनै दोषी तुलबहादुर श्रेष्ठ र रेक्टर गुरु खनाल रहेको छानबिन समिति बनाएर गाईजात्रा देखाए ।

चार सय शøयाको मातृशिशु भवन, दुई सय शøयाको कार्डियोलोजी भवन तथा अंकोलोजी भवन ठेक्का र निर्माणमा भ्रष्टाचारमा आशंकित रजिस्टार तुलबहादुर श्रेष्ठ नै प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारमाथि कुन नैतिकता र के आधारमा कसरी छानविन र अध्ययन गर्ने हैसियत राख्छन् भन्ने प्रश्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा कर्मचारीले उठाएका छन् ।
उक्त समितिले भिसी रौनियारबारे केही नभेटेपछि पटक–पटक काठमाडौं दौडिएको, शौचालय सफा नगरेको जस्ता कुरा लेखी प्रतिवेदन दिएको छ । त्यसैका आधारमा भिसी रौनियार हटाउन मन्त्री यादवले कानुनविपरीत सिनेट बोलाउन पत्र लेखेका छन् ।

टिप्पणीहरू