काँग्रेस महाधिवेशन : ५३ जिल्लाको परिणाम अउँदा २८ देउवाको पक्षमा

काँग्रेस महाधिवेशन : ५३ जिल्लाको परिणाम अउँदा २८ देउवाको पक्षमा

नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्राप्त पछिल्लो परिणामअनुसार संस्थापन प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवापक्षले ५३ मध्ये २८ जिल्ला सभापति आफ्नो पोल्टामा पार्न सफल भएको छ । संस्थापन इतरपक्षले भने २४ जिल्ला सभापति जितेको छ । झापामा तेस्रोधार कृष्ण सिटौला पक्षका उम्मेदवारले बाजी मारेका छन् ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७७ मध्ये ४३ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ । केही जिल्लामा भने सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । मतपरिणाम अनुसारओखलढुंगामा तेजेन्द्र खनाल संस्थापन समूहबाटै सभापति निर्वाचित बनेका छन् । पर्वतमा युवराज जोशी विजयी भएका छन् ।

यसैगरी रुकुम पश्चिममा प्रेमप्रकाश ओली सर्वसम्मत सभापति बनेका छन् । उनी देउवा निकट हुन् । इलाममा पनि संस्थापन समूहबाटै डम्मर खड्का जिल्ला सभापति निर्वाचित भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणको गृहजिलला रुपन्देहीमा संस्थापन पक्षका रामकृष्ण खाँण सर्वसम्मत रुपमा जिल्ला सभापति निर्वाचित भएका छन् ।

उता कञ्चनपुरमा पनि देउवा पक्षका पदम बोगटी विजयी भएका छन् । ललितपुरमा समेत देउवा समूहकै जितेन्द्रकुमार श्रेष्ठ विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

सल्यानमा केशरबहादुर विष्ट, डोल्पामा दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादुर शाही, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु, लमजुङमा डा. टकबहादुर गुरुङ र डोटीमा नरेन्द्रबहादुर सिंह पनि संस्थापन समूहबाटै सभापति निर्वाचित भएका छन् ।

उता ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूणर्बहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ पनि संस्थापन समूहबाटै जिल्ला सभापति चुनिएका छन् ।

यता उदयपुरमा संस्थापन पक्षकै हिमाल कार्की जित नजिक रहेको जानकारी दिइएको छ । ५० मत गन्न बाँकी हुँदा संस्थापनइतरका विदुर बस्नेतभन्दा कार्की एक सय ५० मतले अघि देखिएका छन् ।

स्याङ्जाको सभापतिमा निर्वाचित भएका राजु थापा पनि संस्थापन निकट हुन् । स्याङ्जामा राजु थापा, कास्कीमा किशोरदत्त बराल र काभ्रेमा तीर्थ लामा संस्थापन समूहबाटै सभापति निर्वाचित भएका छन् । जाजरकोट र मनाङ सभापतिमा संस्थापन पक्षकै सर्वसम्मत सभापति भएका छन् । यता नुवाकोटमा रमेश महतले पनि संस्थापन समूहको सहयोगमा सभापति जितेका हुन् ।

संस्थापनइतर रामचन्द्र पौडेल समूहबाट रोल्पामा किशोर आचार्यले जिल्ला सभापतिको निर्वाचन जितेका छन् । पौडेल पक्षबाट खोटाङमा विष्णुकुमार राई, पश्चिम नवलपरासीमा, अर्जुनकुमार पोखरेल जिल्ला सभापति चुनिएका छन् । पाल्पाबाट हिमालदत्त श्रेष्ठ पनि पौडेल समूहबाटै निर्वाचित भएका हुन् ।

दैलेखमा मणीराम रेग्मी, संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने, बाजुरामा रामसिंह रावल समेत पौडेल समूहबाटै जिल्ला सभापति बनेको बताइएको छ ।

उता अर्घाखाँचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी, बैतडीमा चतुरबहादुर चन्द, भोजपुरमा विनोद बान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे पनि पौडेल समूहबाटै निर्वाचित भएका छन् ।

सुनसरीमा पौडेलपक्षकै केदार अधिकारी, धादिङमा रामनाथ अधिकारी, गुल्मीमा खिलध्वज पन्थी र दैलेखमा मणिराम रेग्मी विजयी भएका छन् । काठमाडौंमा भने रामचन्द्र, प्रकाशमान र गगन थापा गठबन्धनका सबुज कृष्ण बानियाले जित हात पारेका छन् ।

दार्चुलामा ललितसिंह बोहोरा पौडेल समूहबाट विजयी बने भने दाङमा शंकर डाँगी समेत संस्थापन इतर समूहबाटै जिल्ला सभापति चयन भएका हुन् । यता झापामा सिटौला पक्षका देउकुमार थेवे निर्वाचित भएका छन् । अन्य केही जिल्लामा नेतृत्व चयनको प्रक्रिया जारी छ ।

टिप्पणीहरू