​तित्राको मुख– सर्पलाई दूध

बेलाबेला ताज्जुब लाग्छ र कहिलेकाहीँ हाँसो पनि उठ्छ । सर्प देख्दा दुलो बाहिर हात… भन्ने प्रवृत्तिले समय–समयमा त्यही सर्पको फँडा उठाउन पनि पछि पर्दोरहेनछ भन्ने बुझ्न टाढा गइरहनु परेन । 

यसै साता देशभरका पत्रकार पूर्वमा भेला भए । प्रदेश १ को स्थायी राजधानी बन्न नसके पनि त्यही हैसियतमा अगाडि बढेको शहर विराटनगरमा जुटेका प्रतिनिधि पत्रकारहरू कतिपयले सीमावर्ती भारतीय सहर जोगबनीको सयर गरिरहेका बेला बन्द सत्रमा भने कतिपयले आफ्नै नेतृत्वको बर्खिलापमा विषवमन गरिरहेका थिए । 

महासंघका उपाध्यक्ष बिपुल पोखरेलले संघीयताको मर्मविपरीत ल्याएको प्रदेश कमिटी सञ्चालनसम्बन्धी कार्यविधिको धुवाँधार विरोेध भइरहेका बेला समय–समयमा रंग फेरेर चर्चामा आइरहने र नेतृत्वलाई खुइल्याएर आफू असल हुन सकिन्छ भन्ने प्रवृत्तिका पूर्वतिरका एकजना जिल्ला अध्यक्षको टिप्पणीले उनलाई गिज्याइरहेको थियो । 

माथिल्लो कमिटीका निर्णय लागू गर्नुभन्दा पनि राष्ट्रिय सम्मेलनमा चर्चा कमाउन उनले झापामा एउटा निर्णय गराए, जसको त्यही जिल्लाका पत्रकारबीच व्यापक विरोध छ । कतिपय कार्यक्रममा जाँदा पत्रकारलाई दिइने यातायात खर्च लिन प्रतिबन्ध लगाउने निर्णय बैठकबाट गराएर विज्ञप्ति निकालेपछि उनीमाथि प्रश्न उठिरहेको भए पनि उनले त्यहाँ पनि त्यो काम गरेर आफूले ऐतिहासिक काम गरेको भनी आत्मप्रशंसामा रम्न पछि परेनन् । 

पहिले एमाले अखिलको जिल्ला कमिटीबाट कारबाहीमा परेपछि पत्रकार बनेका उनी पछि माओवादीतिर लागे । माओवादीको प्रेस संगठनमा बसे पनि कांग्रेसको मोर्चामा काम गरेको उनकै संगठनका नेता बेलाबेला चर्चा गरिरहन्छन् । महासंघका दुवै चुनाव प्रेस युनियनसँग मिलेर चुनाव लडे, जतिबेला देशभर प्रेस सेन्टर र प्रेस चौतारीको तालमेल थियो । त्यो बेला सुनसरी र झापामा युनियन र सेन्टरबीच एकता गराएर चौतारीका उम्मेदवारविरुद्ध लागे । 

अहिले प्रेस चौतारी र प्रेस सेन्टर एकीकृत भएपछि ठूलो तनावमा छन् । तैपनि, कुनै मञ्च पाइहाले पुरानै कुरा दोहो¥याउँछन् । 

मुलुक संघीयतामा गइसके पनि धेरैलाई यो प्रणाली मन परेको छैन । राजनीतिक दल मात्र होइन, पत्रकारलाई पनि पुरानै सिष्टम मन परेको आभाष हुन्छ । विराटनगरमा सम्पन्न पत्रकार महासंघको राष्ट्रिय सम्मेलनमा पनि त्यस्तै देखियो । जनकपुर बैठकबाट त्यो भेला प्रदेश १ मा गर्ने निर्णय भएपछि त्यो काममा पूर्वेली टोली अहोरात्र लाग्यो तर त्यसलाई असफल पार्न केही जिल्लाका अध्यक्षले मोर्चाबन्दी गरी केन्द्रलाई हायलकायल पार्न मात्र खोजेनन्, बन्दसत्रमै त्यसखाले अभिव्यक्ति दिएर पुरानै रोग बल्झाउने कोसिस भयो । कारण रहेछ, प्रदेश सरकारले प्रदेश कमिटीलाई पुछ्ने काम ग¥यो तर विराटनगरका पुराना पत्रकारको खोजबिन नै गरेन भन्ने गुनासो ।

– मनमणि ढकाल

टिप्पणीहरू