हिन्दी फिल्मको नक्कल गर्दै जोगीका छोराको बिहेमा हेलिकोप्टर
विवाह गर्दा हेलिकोप्टर प्रयोगको घटना यदाकदा सुन्ने र देख्ने गरिएको छ । अघिल्लो महिना गायिका इन्दिरा जोशीले हेलिकोप्टर चढेर सगरमाथा नजिकैको स्थानमा औंठी साटेकी (इन्गेजमेण्ट) थिइन् ।
अघिल्लो वर्ष नायिका आँचल शर्माको विवाहमा पनि हेलिकोप्टर प्रयोग गरिएको थियो । तर, वीरगञ्जमा भने बेहुलाले हिन्दी फिल्ममा झैं आफूलाई हेलिकोप्टरमा राखेर जन्त लैजानुपर्ने बताएपछि दुलाहाका पिताले त्यसै गरेका छन् ।
विवाह बाराको सिम्रौनगढ नगरपालिका १० देवापुर टेटाकामा भएको हो । टेटाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर गरेका छन् । जोगी बाराको सिम्रौनगढ नगरपालिका र आदर्श कोतवाल गाउँपालिकाका प्रख्यात खाद्यान्न (गोला) व्यापारी हुन् ।
उनले छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छा भएको बताएकाले तीन लाख ८० हजार रुपैयाँ तिरेर हेलिकोप्टर चार्टर्ड गरेको बताइएको छ ।
उनले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर गरेका हुन् । बिर्जुले रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग विवाह गरेका छन् ।
पारिवारिक स्रोतका अनुसार हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि बिर्जुलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बताइएको छ । छोरोको इच्छा पूरा गरिदिन जोगीले पनि महँगोमा हेलिकोप्टर चार्टर गरिदिएका छन् ।
टिप्पणीहरू