सांसद जनता समाजवादीको, क्रियाशील सदस्यता काँग्रेसको
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा जनता समाजवादीका सांसदले नेपाली काँग्रेसको क्रियाशील सदस्यको हैसितमा भोट हालेका छन् ।
बागमती प्रदेशको प्रथम अधिवेशनमा डा. बाबुराम भट्टराईको जनता समाजवादी पार्टीका बागमति प्रदेश सभासद् प्रेम तामाङ नेपाली काँग्रेसको अधिवेशनमा रसुवाबाट महाधिवेशन प्रतिनिधि भएर मतदानमा सहभागी भएका हुन्
गत शनिबार हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको प्राङ्गणमा सम्पन्न अधिवेशनमा उनले मतदान गरेका हुन् । प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू भोट हाल्न राजधानी हेटौँडा निस्कने क्रममा सांसद तामाङसमेत क्रियाशील सदस्यता खल्तिमा हालेर त्यहाँ पुगेको बताइन्छ ।
मतदानको अन्तिम समय पारेर उनी मतदानस्थल पुगेका थिए । साँझ ५ बजेतिर टोपी र मास्कले आंशिक रुपमा अनुहार ढाकेर उनी मतदानस्थल छिरेको बताइन्छ । त्यहि क्रममा हतार हतारमा भोट हालेर त्यहाँबाट निस्केका थिए ।
नेपाली काँग्रेस कार्यकर्ताहरुका अनुसार सांसद प्रेम तामाङसँगै उनकी श्रीमती तथा जसपाकी नेतृ समेत मतदानमा सहभागी भएकी थिइन् । तामाङ यसअघि मंसिर १४ गते भएको रसुवा जिल्ला अधिवेशनबाट केन्द्रीय प्रतिनिधि पदमा निर्वाचित भएका थिए । उनको क्रियाशील सदस्यता नम्बर ३३१०१२०३०२१८४/१४ रहेको काँग्रेसको अभिलेखमा देखिन्छ ।
त्यसैगरी श्रीमती दावा म्हेन्दो तामाङ पनि मंसिर १४ गतेको जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा छानिएकी थिइन् । उनको क्रियाशील सदस्यता नम्बर ३३१०१२०३०२००२००१८३/१४ रहेको काँग्रेसले उपलब्ध गराएको निर्वाचित प्रमाणपत्रमा उल्लेख छ ।
टिप्पणीहरू