बूढानिलकण्ठमा प्यानल तयार, केहीबेरमा सार्वजनिक हुने

बूढानिलकण्ठमा प्यानल तयार, केहीबेरमा सार्वजनिक हुने

पर्सिदेखि शुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिसहित पदाधिकारीको प्यानल बनाउन संस्थापन पक्षका नेताहरुको बैठक शुरु भएको छ । अहिले सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बैठक बसिरहेको छ ।

बैठकमा सहभागी हुन प्रधानमन्त्री देउवा बूढानिलकण्ठ पुगिसक्नु भएको छ । बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिए । संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ । तर, पदाधिकारीका लागि आकांक्षीहरुको लबिइङ भैरहेकाले उक्त सूची हेरफेर हुनसक्ने बताइएको छ ।

बालुवाटारको एउटा पक्षले त्यस्तो सूची अहिले सर्वेक्षणका लागि व्यापक रूपमा प्रचार गरिरहेको छ । जसमा सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का तथा डा.प्रकाशशरण महत, महामन्त्रीमा बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा,सहमहामन्त्रीमा गोविन्द भट्टराई,भिष्मराज आङ्देम्वे,मीन विश्वकर्मा, महालक्ष्मी उपाध्याय (डिना ),फरमुल्लाह मन्सुर, रामजनम चौधरी,जीतेन्द्र देव र जीवनबहादुर शाही रहेका छन् ।

सभापतिमा दोहोरिने निर्णय गरिसक्नु भएका देउवा जिल्ला तथा प्रदेश अधिवेशनपछि थप उत्साहित हुनुभएको छ । ती अधिवेशनले आफ्नो पक्ष बलियो देखिएको भन्दै संस्थापन पक्ष हौसिएको छ ।

यता,सभापतिको साझा उम्मेदवार तय गर्न सकस झेलिरहेको संस्थापन इतरपक्षका नेताहरु पनि छुट्टै छलफलमा जुटेका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा इतर पक्षका केन्द्रीय सदस्य,जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरूको बैठक अहिले बसिरहेको छ ।

संस्थापनइतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री सशांक कोइराला,नेताद्वय प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको दावेदार छन् । चारै जना प्रतिष्पर्धामा जाँदा संस्थापन पक्षलाई हराउन नसक्ने निष्कर्ष निकालेको यो पक्ष साझा उम्मेदवार तय गर्ने कसरतमा छ । इतर पक्षका नेताहरु अस्तिदेखि लगातार छलफलमा छन् । हिजोको बैठकमा वरिष्ठ नेता पौडेल र अर्का नेता शेखरले प्रतिस्पर्धाबाट पछि हट्ने संकेत गरेका थिए ।

टिप्पणीहरू