पूर्व राजाको निहुँमा राप्रपा बैठकभित्र लडाईं
राप्रपाको महाधिवेशनपछि गठित नयाँ कार्यसमितिको हिजो दिनभर बैठक बस्दा अन्य विषयभन्दा पनि राजाको बारेमा धेरै चर्चा भएको छ । एकथरिले महाधिवेशनमा राजाले चलखेल गरेकाले छानबिन गर्नुपर्ने बताएका थिए भने अर्काथरिले राजाको बारेमा बोल्न हुँदैन भनेका थिए ।
त्यहि विषय चर्किंदै जाँदा बैठक लम्बिएको बताइन्छ । तर,अन्तमा उक्त विषयमा कुनै निर्णय नभई फासफुस भएको छ । अब आगामी दिनमा यो विषयमा राप्रपामा कुरो उठिरहने तर निर्णय केही नहुने अवस्था छ ।
बैठकको अधिकांश समय नेताहरुबीच राजाको पक्ष र विपक्षमा घोचपेच भएको थियो । बैठकमा उग्र ढंगले प्रस्तुत हुनेमा लमजुङका हेमजंग गुरुङ थिए । युवा संघका सभापति प्रकाश रिमाल पनि उग्र रुपमा प्रस्तुत भएको बताइन्छ ।
थापा पक्षधर अधिकांशले पूर्वराजाको भूमिकाको छानबिन हुनुपर्ने आशयमा बोलेका थिए । लिङ्देन पक्षधरहरुले भने पूर्वराजाको बारेमा कुरो उठाउनु मुनासिव नभएको बताए । अध्यक्ष राजेन्द्र लिङ्देनले दुबै पक्षको कुरो सुनेर बीचमा धारणा राखेको बताइन्छ ।
हिजोको बैठकमा निवर्तमान अध्यक्ष कमल थापा भने अनुपस्थित थिए । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन पहिलेका महामन्त्रीको कोठामा बसेका छन् । बैठकमा पशुपति समशेर राणा, डा.प्रकाशचन्द्र लोहनी भने उपस्थित थिए । लोकेन्द्रबहादुर चन्द अस्वस्थ भएकाले अनुपस्थित भएको स्रोतले दाबी गरेको छ ।
बैठक कक्षमा अध्यक्ष लिङ्देनले आफ्नो दायाँतर्फ कमल थापा र बुध्दिमान तामाङलाई,बायाँतर्फ पशुपति समशेर राणा र प्रकाशचन्द्र लोहनीलाई सिट मिलाएर राखिदिएका थिए ।
टिप्पणीहरू