सुर्ता मान्दै सुमार्गी विदेशतिर सुटुक्क

सुर्ता मान्दै सुमार्गी विदेशतिर सुटुक्क

सन्देहात्मक आर्थिक कारोबारका कारण चर्चामा आइरहने अजेयराज सुमार्गी (पराजुली) का खबर आजकल त्यति सुनिँदैन । यसो हुनुको कारण रहेछ, उनका लफडा आजकल देशभित्र हैन, विदेशतिर चल्नु ।

जसरी नेपालमा करमुक्त देशबाट आएको शंकास्पद रकम र कर फस्र्यौटदेखि जमिनको कारोबारसम्मका मामिलामा सुमार्गी चर्चामा आइरहन्छन्, अहिले ती काम उनले नेपाल हैन, बेलायतमा रहेर ‘धानिरहेका’ छन् । हो, सुमार्गी आजकल नेपालमा छैनन् ।

दशैं–तिहार सिध्याएलगत्तै बेलायत पुगेका हुन् । तर, त्यहाँ पनि नेपालकै जस्तो समस्यामा पर्नाले आजकल सामाजिक सञ्जालतिर त्यति भेटिँदैनन् । किनभने, यहाँ पो सोर्सफोर्स र पैसाले पेलपाल गरेर लफडा मिल्छ, विदेशमा त्यस्तो हुँदैन ।

मकवानपुर जिल्लाकै एकजना थापा थरका बासिन्दा लामो समयदेखि बेलायत बस्दै आएका थिए । ती व्यक्तिसँग राम्रै सम्बन्ध थियो । उनीमार्फत बेलायतमा घर किने । त्यही घरमा बस्न भनेर नेपाल छाडेका उनलाई अहिले ‘रुनु कि हाँस्नु’ भएको छ । कारण हो, तिनै थापाबाट ठगिनु ।

बेलायतमा ‘घरजग्गाकै कारोबार गर्छु’ भन्दै नजिकिएका ती व्यक्तिले उनका लागि एउटा घर त किनिदिए, तर अर्कै फोटो देखाएर । फोटो र भिडियोमा पहिल्यै देखेको घरको कल्पना गर्दै काठमाडौंबाट हुँइकिएका सुमार्गी लण्डन उत्रिएपछि होस्–हवास नै उड्ने गरी समस्यामा परे । किनभने, पहिला देखेको घर होइन रहेछ ।

नेपालमा सुमार्गीका भएजति सबै व्यवसाय चौपट्ट छन् । तलब नदिएका कतिपय कर्मचारी त उनी पलायन भएको र इच्छाराज तामाङले पनि झण्डै त्यसैको सिको गर्न लागेकोसम्म भन्ने गर्दछन् । अहिले नेपालमा उनको चलिरहेको व्यवसाय हो, रेडियो र अनलाइन । दुबैको कार्यालय वानेश्वर र बबरमहलस्थित आफ्नै भवनमा छ ।

रेडियोको जिम्मा प्रचण्डको सचिवालयमा रहेका माओवादी पत्रकारका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ र अनलाइन (थाहा सञ्चार डटकम) को जिम्मा एमालेसम्बद्ध वरिष्ठ पत्रकार तीर्थ कोइरालाको हातमा छ । तर, दुबैतिरका कर्मचारी तलब नपाएर हैरान छन् ।

रसुवामा सञ्चालित मिनरल वाटर (हिमालयन स्प्रिङ) कम्पनी घाटामा छ । हेलो मोबाइल नामक कम्पनी चलाएका थिए । त्यसको सिष्टम नै कोल्याप्स छ । हेटौंडा– ११, नवलपुरमा एउटा बोर्डिङ स्कुल छ, हेटौंडा एकेडेमी । बुहारी अंकिता राजभण्डारीले चलाउँछिन् । शिक्षकहरुलाई समयमा तलब दिन नसकेपछि पढाई राम्रो हुन छाड्यो । विद्यार्थी घटेर खर्च धान्नै मुश्किल छ ।

भाइ अरुणले हेटौंडा– ४ स्थित भैरवरोडमा कोल्डस्टोर (मासुको कारोबार) चलाएका छन् । दिनभरि कारोबार ग¥यो, बेलुकी टुच्च मुख रसाएपछि आम्दानी खत्तम ! नेपालमा उनीसँग भएका जग्गा बेच्ने, खानेबाहेक उपाय थिएन । तीनकुनेस्थित कान्तिपुर कम्प्लेक्स भएको जमिन र विशालनगरस्थित फ्रेञ्च दूतावासको जमिन उनका अलिक आशलाग्दा आर्थिक आधार हुन् । त्यसमा पनि विशालनगरको जग्गा बेच्दा पुँजिगत लाभकरबापत ३५ करोड तिर्नुपर्छ ।

पहिला फ्रेञ्च दूतावासले आवास राखेको उक्त जमिनको क्षेत्रफल १ सय १ आना, अर्थात् ६ रोपनी छ । दूतावाससँग किनेर उनले उक्त जमिन पहिला नेपाल बंगलादेश बैंकलाई बेचे । अहिले १ अर्ब १६ करोडमा मेगा बैंकलाई बेचेका छन् । बंगलादेश बैंकलाई बेच्दा साँवा रकम उठेको थियो ।

अहिले १ अर्ब १६ करोड रुपैयाँ फाइदा नै भयो । मुक्तिश्री हस्पिटालिटी प्रा.लिको नाममा रहेको उक्त जमिनको कारोबारबापत २५ प्रतिशत कर तिर्नुपर्छ । तर, अहिलेसम्म तिरेका छैनन् ।

टिप्पणीहरू