एमालेमा यो पनि अचम्म देखियो यसपालि
नेकपा (एमाले) को दशौँ महाधिवेशनबाट केपी शर्मा ओली पुनः अर्को कार्यकालका लागि अध्यक्ष त निर्वाचित हुनुभयो । तर, उहाँँका निम्ति पार्टीको आन्तरिक व्यवस्थापन ‘फलामको च्युरा’ बन्ने विश्लेषण एमालेकै नेताहरूको छ ।
ओली पहिला आन्तरिक रुपमा सर्वसम्मत हुनुहुन्थ्यो । अर्थात्, आफ्नो समूहभित्र उहाँप्रतिको स्वीकार्यतामा समस्या थिएन । तर, अब हिजोजस्तो सर्वसम्मत नहुने चित्र प्रष्ट छ । महाधिवेशनबाट आएका धेरै गुट र तिनका आकांक्षाको व्यवस्थापन ओलीका निम्ति सहज हुँदैन । त्यहाँ आफ्नै समूहका तीनथरि नेता छन् । एउटा, आफैँले रोजेर ‘वरिष्ठ’ बनाएको समूह, अर्को ‘वरिष्ठ’ बनाउन नसकेर थुम्थुम्याउनु परेको समूह र तेस्रो हो, राष्ट्रपति विद्या भण्डारीपक्षीय नेताको टोली । बाह्य रुपमा हेर्दा त्यहाँ अन्तिममा माधव नेपालको साथ छोड्ने १० बँुदे पक्षधर छन् र त्यहीस्थितिका पूर्वमाओवादी पनि छन् । यो गञ्जागोलभित्र ओलीले कसरी सर्वसम्मति बनाउनुहुन्छ भन्ने कुरा प्रतीक्षाको विषय बनेको छ ।
अर्कातर्फ, एमालेभित्र वैचारिक विषयहरूको व्यवस्थापनमा समस्या छ । महासचिव शंकर पोखरेल आफूलाई जबजको व्याख्याता भन्ने दावी गर्नुहुन्छ । जबजकै सान्दर्भिकतामा प्रश्न उठाउने घनश्याम भुसालको व्यवस्थापन के हुने हो ? यसको टुंगो छैन । शंकरको एकांकी शैलीको व्यक्तित्व, अभिव्यक्ति र कार्यशैलीले एमालेको संगठनात्मक तथा वैचारिक रफ्तार कस्तो रहला ? एकथरि एमाले नेताहरू भन्छन्, ‘शंकरलाई महासचिव बनाउनु भनेको एमालेलाई छिट्टै ध्वस्त बनाउने हतारो हो, त्यसमा केपी सफल हुनुभएको छ ।’ लुम्बिनीमा मुख्यमन्त्री रहँदा प्रदर्शन गर्नुभएको सत्तालिप्साको नमुनाबाटै उहाँले महासचिवको जिम्मेवारी सम्हाल्नुभएको पार्टी के हुन्छ भन्ने झल्काउने ती नेताहरूको ठम्याइ छ । त्यसमाथि ओलीसरहकै तिकडमबाजीमा अभ्यस्त वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल त्यहीँ हुनुहुन्छ । त्यसमाथि सुवास नेम्वाङलाई नबोलेरै धेरै थोक प्रकट गर्ने नेता मानिन्छ ।
जिद्धिको परिणाम
राजा ज्ञानेन्द्रले ०६१ माघ १९ मा सम्पूर्ण राजकीय अधिकार आफूमा निहित गरेझैँ ओलीले केन्द्रीय सदस्य, आयोगदेखि पदाधिकारीसम्मका नाम छान्ने अधिकार आफूले लिनुभयो । तर, त्यही कदम उहाँका निम्ति ‘गाँसमा ढुंगा’ बन्न पुग्यो । भनिन्छ, महाधिवेशनको सबभन्दा दुर्वल पक्ष हो यो । आफूले पढेपछि हलले ताली पिटेर पारित गर्छ भनिएका नामहरूमा सर्वसम्मति भएन । के आफ्ना, के अरुका– कुनै पक्षका नेता पनि सतप्रतिशत सन्तुष्ट हुन नसक्दा निर्वाचनमा जानुपर्ने बाध्यता आयो ।
प्रतिनिधिहरूलाई पूरै दुई रात, दुई दिन अनिँदो बनाएर चुनाव गराइँदा कतिपय आफ्ना मान्छे छुट्न पुगेका छन् । त्यो तिकडमबाजीमा नलागी निर्वाचनमा गएर ‘यो–यो मान्छेलाई भोट हाल’ भनी चिट बाँडेको भए यस्तो क्षतिबाट ओली बच्नुहुन्थ्यो भनेर उहाँकै निकटस्थ नेताहरूले भन्न थालेका छन् । यसले अरुभन्दा बढी आफैँलाई क्षति ग¥यो । आफैँ चुनावमा जानुपर्ने अवस्थाका कारण उहाँलाई अहिले अपमानबोध भएको छ । ‘निर्विकल्प हुँ’ भन्ने दम्भबाट झर्नुपरेको छ ।
पात्र–प्रवृत्ति
उहाँले भीम रावल र घनश्याम भुसालको उम्मेदवारीलाई रोक्न चाहनुभएको थियो । तर, रोक्नु त परैको कुरा, चुनावमा नगई नहुने बाध्यताले केही अनुमानविपरितका पात्र आइदिए । सबै प्रतिनिधिलाई स्वतन्त्र छाडिदिएको भए केन्द्रीय कमिटीमा ५० प्रतिशत विरोधीको सामना गर्नुपर्ने थियो । धन्न, भनेको मानेर सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएन । यदि गरेको भए ईश्वर पोखरेल हार्ने खतरा बढी थियो । यदि त्यस किसिमको कडाइ नगरिएको भए झापाका गोविन्द थापा, धनुषाका सञ्जीवकुमार झा (सुरज), बाँकेकी दिपा शर्माहरू केन्द्रीय सदस्यमा आउने थिएनन् । यिनीहरू एमालेभित्रका नमुना पात्र हुन् ।
गोविन्द थापा ‘मैँ केपी ओली हुँ’ भन्न पनि पछि नपर्ने र ओलीका नाममा मान्छेहरूसँग विभिन्न सौदाबाजीमा नाम चलेका व्यक्ति हुन् । सञ्जीव भारतीय दूतावासका मान्छेहरूसँग बाक्लो उठबस गर्नेदेखि सेनाको हतियार खरिदसम्मका गतिविधिमा शंकास्पद मानिन्छन् । दिपा शर्मा लामो समय महामहिम राष्ट्रपतिको सचिवालयमा थिइन् । दलीय रुपमा तटस्थ हुनुपर्ने संस्थामा जागिर खाने उनी भूगोलबाट प्रतिनिधि चयन हुन सकिनन् । मनोनीत गरेर केन्द्रीय सदस्य बनाइयो ।
भीम रावलले ०६५ सालको आठौँ महाधिवेशनमा झँै उपाध्यक्ष हारेपछि केन्द्रीय सदस्य अस्वीकार गरेझैँ यसचोटि पनि त्यस्तै गर्नुभएको छ । तर, उहाँपक्षीय केही नेताचाहिँ चुनाव जितेरै केन्द्रीय सदस्य भए । सुदूरपश्चिम सरकारका निवर्तमान मन्त्री प्रकाशबहादुर शाह र झपटबहादुर रावल केन्द्रीय सदस्य भए । बरु ओलीकै मान्छेहरू झण्डैझण्डै हार्नेमा पुगे ।
सूर्य थापाको कस्तो हरिबिजोग भयो भने, जित्नेमध्ये अन्तिमबाट तेस्रोपछि मत पाए । सबभन्दा कम मतका साथ जित्ने सञ्जीव झाको १२ सय ६८ मत थियो भने सूर्यको १४ सय ८५ आयो । शिवराज सुवेदी, श्रीप्रसाद जवेगु पनि सूर्यभन्दा कम भोटले जितेका हुन् । तीबाहेक सबैले सूर्यको भन्दा बढी भोट ल्याए । यो परिणामले भन्छ, ओलीका भित्रियाहरू पार्टीभित्रै उति रुचाइएका छैनन् । बरु, भर्खरै माओवादीबाट आएका बालकृष्ण ढुंगेलले १६ सय ६६ मत ल्याए ।
ओलीले आफ्नै गुटभित्र राजविराजका नेता सुमन प्याकुरेललाई जानाजान केन्द्रीय सदस्यमा छुटाउनु भएको थियो । तर, प्याकुरेलको ठाउँमा उठ्ने भनिएकाले उम्मेदवारी दर्ता गर्न नपुग्दा पासा पल्टियो । ओलीले डोरमणि पौडेल, युवराज खतिवडा, गोमा देवकोटा, राधा ज्ञवाली, रुपनारायण श्रेष्ठ, उमा कोइराला, तिल विश्वकर्मा (भारत प्रवास) एकराज विश्वकर्मा, विशाल भट्टराई, विषमलाल अधिकारी दनुवार, टंक कार्की, नरेश खरेल, युवराज कार्कीहरूलाई बिदा गर्न खोज्नुभयो ।
त्यसमध्ये टंक कार्कीले उम्मेदवारी दर्ता गर्दा सचिवमा हारे पनि केन्द्रीय सदस्यमा ९ सय ५ भोटसहित जितेको सूची सार्वजनिक गरियो । जबकि, त्यति नै भोट ल्याएका अरुले जितेका छैनन् । टंकलाई जिताउनका लागि भीम रावललाई हराइएको बनाइयो, ९ सय ४ भोट देखाएर ।
सबभन्दा फाइदामा भए, पूर्वमाओवादीहरू । उनीहरूले चूपचाप ३२–३३ सीट पाए । १० बुँदे पक्षधर नेताहरू अझै चित्त दुखाउँदै छन््, माओवादीहरू चाहिँ मख्ख परेका छन् ।
सबभन्दा अपमानित त शहीद ऋषि देवकोटा ‘आजाद’ की पत्नी गोमा देवकोटालाई गरियो ७० वर्ष पुगेको नाममा र केन्द्रीय कमिटीमा समेटिएन । जबकि, अध्यक्ष मण्डलमा हुनुहुन्थ्यो । उहाँ सदस्य रहेको अध्यक्ष मण्डलले ओलीलाई नामावली पेश गर्न अनुमति दियो । तर, अनुमति दिनेमध्येकी आफैँचाहिँ छुट्नुभयो ।
टिप्पणीहरू