कमाइ कति,पत्नीको नाममा लुकाइ कति ?

कमाइ कति,पत्नीको नाममा लुकाइ कति ?

एक जना सरकारी कर्मचारीले जागिरे जीवनभरमा कति रकम वैध ढंगले आर्जन गर्न सक्ला ? मासिक २८ देखि ३० हजार सुख्खा तलब थापेर राजधानीमा परिवार पाल्नै धौ धौ पर्दछ इमान्दार कर्मचारीलाई तर ०४० साल फागुन ६ गते सरकारी सेवामा प्रवेश गरी ०७५ चैत्र ३० गते अवकाश पाएका एक जना अधिकृतसँग झण्डै डेढ करोड अवैध सम्पत्ति रहेको अख्तियार दुरुपयोगको अनुसन्धानबाट पत्ता लागेको छ ।

त्यसरी छोपिएका अवकाशप्राप्त अधिकृत हुन उध्दवप्रसाद थपलिया । जागिरे जीवनभर अर्थ मन्त्रालय र मातहतका निकायमा कार्यरत रहँदा उनले २ करोड ६७ लाख ७१ हजार ९ सय अन्ठाउन्न रुपैयाँ आर्जन गरेको र सोमध्ये १ करोड ६४ लाख ८९ हजार सात सय रुपैयाँ अवैध ठहर गर्दै अख्तियारले उनीविरुध्द विशेष अदालतमा मुध्दा दायर गरेको छ ।

अख्तियारले आजै थपलियाविरुध्द विशेषमा भ्रष्टाचार मुद्दा लगेको हो । थपलियाले साविक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २० उपदफा (१) बमोजिमको कसूर गरेकोले बिगो एक करोड ६४ लाख ८९ हजार कायम गर्दै विशेष अदालतमा मुद्धा दायर गरिएको हो । अख्तियारले स्रोत नखुलेको सो सम्पत्ति जफत गर्नसमेत माग गरेको छ ।

जाँच अवधिमा अकुत आर्जन गरी श्रीमती मुना पन्त थपलियाको नाममा सम्पत्ति लुकाएको अख्तियारले अनुसन्धानबाट खुलेको जनाएको छ । पत्नीको नाममा भएका घरजग्गा तथा बैंक खाताहरुको रकम लगायतको पनि स्रोत पुष्टि हुन नसकेकाले उनलाई प्रतिवादी बनाई जफत गर्न अख्तियारले माग गरेको छ ।

उसो त नेता,सांसददेखि मन्त्रीसम्मको आर्शिवाद पाएपछि अकुतमा परे पनि अदालतले सहजै सुन पानी छम्किएर उम्काइदिन्छ भन्ने कुराका उदाहरण हुन् मानप्रसाद बिक ।

रोल्पाली निम्नवर्गीय परिवारका बिक ०६८ असोजमा निजामती सेवामा छिरेका थिए । त्यसअघि २०६६ चैत १० देखि २०६८ असोज २१ गतेसम्म राहत कोटामा श्रीकृष्ण मावि रोल्पामा शिक्षक थिए । भैरहवा भन्सारमा कार्यरत रहँदा १ करोड २७ लाख ६६ हजार ९४५ रुपैयाँ अकुत आर्जन गरे।अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर पनि गर्यो ।

तर तीन बर्षसम्म तन्काइएको सो मुध्दामा उनै बिकलाई नयाँ सरकार फेरिएसँगै क्लिन चिट दिइएको छ । कार्तिक दोश्रो साता न्यायाधीशद्वय नित्यानन्द पाण्डे र अब्दुल अजिज मुसलमानको इजलाशले क्लिन चिट दिएको दुई साता नबित्दै उनलाई फेरि वीरगन्ज भन्सारमा पठाइएको छ ।

टिप्पणीहरू