मुगुका आगलागी पीडितलाई ४ लाख

मुगुका आगलागी पीडितलाई ४ लाख

कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पीडितलाई नगद रकम राहत उपलव्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले क्षतिको अवस्था हेरेर २५ हजारदेखि चार लाख रुपैयाँसम्म राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो ।

आगालागीबाट विस्थापित ८५ घर परिवारलाई ६१ लाख ८५ हजार रूपैयाँ राहतस्वरुप प्रदान गर्न जिल्ला प्रशासन कार्यालय, मुगुलाई स्वीकृति दिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरधनीसहित घरभाडामा बस्ने र व्यवसायीलाई समेत दुई किस्तामा राहत दिइने छ ।

गत कात्तिक २९ गते छायाँनाथ रारा नगरपालिका–१ को गमगढी बजारमा आगलागी हुँदा २१ घरमा क्षति पुगेको थियो ।

आगलागीबाट घरभाडामा बस्ने ३५, व्यवसायी २६, पूर्ण घरको क्षति २० र आंशिक घर क्षति भएका चार जना विस्थापित भएको प्रदेश सरकारले जनाएको छ ।

टिप्पणीहरू