भारतीय सेनामा गोर्खालीको सन्तानलाई स्वर्ण पदक

भारतीय सेनामा गोर्खालीको सन्तानलाई स्वर्ण पदक

भारतीय सेनामा एक जना नेपालीले स्वर्ण पदक पाएका छन् । अनमोल गुरुङले आर्मी क्याडेट कोर्स (एसीसी) को १ सय १६ औं ब्याचमा स्वर्ड अफ अनर र स्वर्ण पदक पाएका हुन् । हिजो देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा गोर्खा राइफल्सका गुरुङलाई उक्त पदकले सम्मान गरिएको छ ।

एकेडेमीले यस वर्षको शरद ऋतुमा सञ्चालन गरेको भारतीय सेनाका अधिकृतहरुको पासिङ आउट परेडमा गुरुङले उत्कृष्ट नतिजा ल्याएको घोषणा गर्दै हिजो राष्ट्रपति रामनाथ कोविन्दले गुरुङलाई स्वर्ड अफ अनर र स्वर्ण पदक प्रदान गर्नुभएको हो । भारतीय सेनाको इतिहासमा यस्तो स्पर्धामा गोर्खालीले झण्डै ३६ वर्षपछि स्वर्ण पदक पाएको यो नै पहिलो पटक हो ।

एसीसी कोर्स भारतीय सेनाको तल्लो दर्जाबाट परीक्षा उत्तिर्ण गरेर भर्ना भएकाको निम्ति हुने तालिम हो । त्यहाँको सेनामा भर्ना विधिअनुसार पढाइको आधारमा ७० प्रतिशत सोझै सेकेण्ड लेफ्टिनेण्ट हुन्छन् भने ३० प्रतिशत तल्ला दर्जाबाट उत्कृष्ट हुँदै आन्तरिक प्रतिस्पर्धाबाट उक्लन्छन् । यसरी सामान्य परिवारको सन्तानले उत्कृष्ट क्षमता देखाउँदै यस वर्षको कोर्समा स्वर्ण पदक पाएका हुन् ।

गुरुङ भारतीय सेनाको छैठौं गोर्खा राइफल्सको पाँचौं बटालियनका हुन् । यसअघि खेमबहादुर गुरुङले सन् १९५० र एनके गुरुङले सन् १९५७ पछि यस्तो सम्मान पाएका थिए । गत बुधवार तमिलनाडुको हेलिकप्टर दुर्घटनामा मारिएका भारतकै सबैभन्दा ठूला सैन्य अधिकारी बिपिन रावतले गोर्खा पल्टनबाटै करिअर शुरु गरेका हुन् ।

टिप्पणीहरू