​पत्थरमा ग्रहदशा सर्दैन कमरेड

  • रामकुमार एलन

२५ वर्ष भयो साध्यबहादुर भण्डारी नागरिकताले देश सिक्किम र फिजीकरण हुँदैछ भनिरहेका छन् । प्रधानमन्त्रीकै गृहजिल्ला झापामा भारतीयले नागरिकता पाइरहेको समाचार छापिएकै छन् । के २५ वर्षसम्म एउटै मुद्दामा हिँडिरहेका साध्यबहादुर भण्डारीको एजेण्डा गलत थियो ? थियो भने बालुवाटार बोलाएर किन सम्झाउन सक्दैन सरकार ?

प्रतिपक्ष सामाजिक सञ्जालमा मात्रै देखिन्छ । स्वास्थ्य क्षेत्रभित्र नर्सिङ, आयुर्वेद, प्रयोगशाला दुनियाँ विधा छन् । गोविन्द केसीको अनशन यसमा केन्द्रित छैन भन्ने भेउ पाएपछि सरकार र त्यसमा पनि योगेश भट्टराईको प्रस्तुतिले गोविन्द केसीको सटरमा राजनीति गरिरहेको नेपाली कांग्रेसको राजनीतिक मुद्दा नै जुस पिएर उठ्ने बन्यो । एउटा एउटा मुद्दामा विश्लेषण गर्ने हो भने यो सरकार अहिले गोकुल बाँस्कोटाले भनेजस्तै तात्दै गरेको पानी होइन भकभक उम्लिनु पथ्र्यो, नेपाली जनताले गरेको अपेक्षा यति न हो ! वाइडबडी शेरबहादुर देउवाकहाँ पुगेर ‘खोइ खोलो, सुक्यो’ भनेजस्तो भयो । बालुवाटार जग्गा प्रकरणमा एमाले पक्षधरको राम्रै बदख्वाइँ उद्योग गरेका मिडियाहरु शेरबहादुर देउवासम्म पुग्नै लाग्दा फेरि ‘खोइ खोला–सुक्यो’ भन्ने अवस्थामा पुगेका छन् । अर्थात् स्वयं प्रधानमन्त्रीले गोप्यरुपमा थालेको अनुसन्धानले राम्रै सन्देश दिएको छ । तर यहाँ कम्युनिष्ट सरकारको बदनाममा मसी र उर्बर समय खर्च गरिरहेका मिडियाहरु सरकार निरंकुश भयो भनिरहेका छन् । 

एउटा एक करोडको ब्रुमर ल्याए हुने रहेछ काठमाडौंमा, धुलो फाल्ने त त्यस्तै हो । मेलम्चीको पानी आइदिए पुग्छ । महँगी नियन्त्रण भए पुग्छ । ३५ लाख श्रमिकको सुरक्षा जोडिएको विषय कहाँ पुग्यो, जनताले उत्तर खोजेका छन् । वैदेशिक रोजगारीबाट फर्केकाले अनुदान पाउने भनेर फर्म भराइएको थियो । वैशाखमा नाम निस्कने भनिएको थियो । त्यो काम कहाँ पुग्यो ? जनताले यस्तै खोजेका छन् । इन्धनको मूल्य बढ्दा विरोध हुँदैन । हड्ताल, जाम हुन छाडेका छन् । ग्यास अभाव छैन । मदिरा नियन्त्रणको प्रयास छ । राति १० बजेपछि कारोबार रोकिएको छ । स्थानीय तहमा कर्मचारीले जनप्रतिनिधि घुमाएका छन् । भनेजस्तो काम हुन सकेको छैन । जनप्रतिनिधिलाई चैँ केन्द्र सरकार र प्रदेश सरकारले घुमाएको छ । अक्सर काठमाडौं र प्रदेश मन्त्रालय पुग्दैमा वर्ष बितेका छन् । यसको समीक्षा हुन बाँकी छ । राजधानी र नाममा प्रदेश सरकार अन्कनाइरहेका छन् । यो पनि समीक्षाको विषय बनेको छ तर अधिकार केन्द्र सरकारसँग रह्यो भनेर मुख्यमन्त्रीहरु गुनासो पनि गरिरहेका छन् । 

एकवर्षमा देखिएका यी दृश्य हुन् । कानुन बनेका छन् । निजीक्षेत्रसँग सहकार्य गर्ने भनिएको छ । तर देखिएका निजीक्षेत्रहरुले विगतमा गरेको वाचा कति पूरा भयो ? जनताले त फेरि पनि प्रश्न गर्ने भए । सतहमा आएका निजीक्षेत्रको विगतको हुलिया पनि जनताले बिर्सेका छैनन् । उनीहरु कहाँ, कुन बैंकमा कालो सूचीमा थिए, त्यो पनि हेरेकै छन् । त्यसैले उम्लिँदै गरेको पानीमा फोहोरको तर पर्छ कि, जनताले सचेत गराएका हुन् ! नेपालका मिडियाले प्रतिपक्षको भूमिका बोक्ने हो । यो ३० वर्षमा २६ वर्ष भन्दाबढी सत्ताको चास्नीमा डुबेको पार्टी छेउ लाग्दा जति पीडा भएको छ, त्यस्तै पीडा त्यही सरकारको छत्रछायाँमा परेर चास्नीको स्वादमा रमाइरहेको मिडियालाई पनि परेको छ । कतै ठेक्का परेको छैन, कतै हालिमुहालीको विज्ञापन घट्नेवाला छ । त्यसैले सरकार निरंकुश भयो भन्नु पर्ने बाध्यता हो । सरकारले काम गर्दै गए पुग्छ । 

पार्टी ७० वर्ष प्रवेश गरेको अवसरमा प्रधानमन्त्री र अध्यक्ष केपी ओलीले ज्योतिष बोकेका मिडिया र मिडियामैत्री ज्योतिषलाई पनि कटाक्ष गर्नुभयो । ज्योतिषले हल्ला गरे, नेता मर्छन्, राजतन्त्र आउँछ आदिइत्यादि । प्रधानमन्त्रीको भनाइ ठीकै हो, यत्रो पार्टी मिल्न लागेको किन थाहा पाएनन् ज्योतिषले ? तर यतिखेर सरकार र कम्युनिष्टविरुद्ध सबै शक्ति प्रयोग भइरहेको छ । प्रचण्डले भैँसी पुज्दाको आलोचना अहिलेसम्म खेपिरहेकै छन् । अरु ज्योतिषलाई गाली गर्दा स्वयं दुई अध्यक्षले पनि आदित्यबाबा नबोकेको भए उत्तम हुन्थ्यो । ग्रहदशा पत्थरमा सार्न सकिन्छ भन्ने भ्रममा यहाँ को चुकेका छैनन् र ? भैँसीपूजादेखि आदित्यबाबाले हँसाएकै छ । एकजना वरिष्ठ नेतालाई त अझ २०५६ तिरै तपाईं प्रधानमन्त्री हुने बेला भयो भनेका थिए रे ज्योतिषले ! एकजनाले अर्का वरिष्ठ नेतालाई तपाईंलाई शीतल निवासतिरै साइत छ भनेका थिए रे, पछि विस्तृत चर्चा गरौँला । तर राजनीति गर्नेहरुले पत्थरमा ग्रहदशा सार्न सक्ने भए सबैभन्दा बढी ग्रहदशा त कांग्रेस सभापतिले सार्नु पर्ने हो । जुन असम्भव छ, त्यस्ता विषयमा सरकार, प्रतिपक्ष, नेता मात्र होइन, मिडिया किन पछि लागेको होला, जनता रनभुल्ल छन् ।

टिप्पणीहरू