काँग्रेसमा लाइन मिचेको आरोप

काँग्रेसमा लाइन मिचेको आरोप

मुलुककै जेठो राजनीतिक दल नेपाली काँग्रेसको जारी १४ औँ महाधिवेशनमा चरम भद्रगोल देखिएको छ । व्यवस्थापकीय कमजोरीका कारण महाधिवेशन अस्तव्यस्त हुँदा प्रतिनिधिहरुले ठूलो सास्ती व्यहोर्नुपरेको गुनासो गरेका छन् ।

महाधिवेशनबाट नयाँ नेतृत्व छान्न देश–विदेशबाट उत्साहित भएर काठमाडौं आएका ४७ सयभन्दा बढी प्रतिनिधि भृकुटीमण्डपको अस्तव्यस्तताले आजित बनेका हुन् । उद्घाटन सत्रको कार्यक्रमदेखि आज दोस्रो चरणको मतदानको दिनसम्म आइपुग्दा अनेक सास्ती झेल्न परेपछि उनीहरु नेतृत्वसँग रुष्ट मात्र भएका छैनन्, आक्रोशित पनि छन् ।

आजको २१औं शताव्दीको सूचना प्रविधिको युगमा पनि काँग्रेसका प्रतिनिधिहरु हिजो राति अबेरसम्म नाङ्लोभन्दा ठूलो मतपत्र बोकेर मतदानका लागि घण्टौं लाइनमा बस्नुपरेको थियो । पुसको चिसोमा समेत नयाँ नेतृत्व छान्न उत्साहित भएर लाइन लागेका प्रतिनिधिहरु निर्धारित समयमा मतदान हुन नसकेपछि दिनभर भोकभोकै उभिन बाध्य भए । २७ वटा मतपत्र र धेरै उम्मेदवार भएकाले एउटै प्रतिनिधिलाई भोट खसाल्न एक घण्टासम्म समय लागेका कारण घण्टौं लाइन बस्नुपर्ने अवस्था बनेको हो ।

त्यति मात्र होइन, दिनभर लाइनमा बसेर आफ्नो पालो आउनै लाग्दा मतपत्र सकिएर मतदान स्थगित हुने अवस्थासमेत काँग्रेसका कार्यकर्ताले भोग्नुपर्यो । त्यसैले त प्रतिनिधिहरुको चर्को गुनासो छ– ‘महाधिवेशनले उत्साह जगाउनुपर्नेमा उल्टै यातना खेप्नुपर्यो ।’ एक प्रतिनिधिका अनुसार मतदानका लागि छ घन्टासम्म लाइनमा उभिनुपरेको थियो । निकै आक्रोशित देखिएका उनले केन्द्रीय नेताहरुले लाइन मिचेर विभेद गरेकोमा पनि चर्को असन्तुष्टी जनाए ।

आफूलाई मुलुककै जेठो पार्टी र लोकतान्त्रिक आन्दोलनको अगुवा दाबी गर्ने काँग्रेसको महाधिवेशनमा लाइन लागेर पानि ट्याङ्कीमा मतपत्र खसाल्नु पर्ने अवस्थाले उसको सोच, कार्यशैली र व्यवस्थापकीय क्षमतामाथि नै प्रश्न उठेको छ । स्वयम् प्रतिनिधिहरुले मतदान व्यवस्थापनलाई लिएर आलोचना गरेका छन् । ‘२१ औँ शताव्दीको चुनाव पनि यस्तो हुन्छ ?’, नेतृत्वमाथि व्यङ्ग्यमिश्रित प्रश्न गर्दै एक प्रतिनिधिले भने ।

वर्षौंदेखि संघर्ष गर्दै महाधिवेशन प्रतिनिधि बनेर आए पनि आफूहरुमाथि विभेद गरिएको भन्दै दुःखित हुनेहरु पनि उत्तिकै देखिए । शहरी र ग्रामिण क्षेत्रबाट आएका प्रतिनिधिहरुलाई फरक–फरक व्यवहार भएको भन्दै भृकुटीमण्डपमा गुनासाका पोका खोल्नेहरू धेरै भेटिए । शहरबाट आएकालाई छुट्टै लाइन लगाएर छिट्टै मतदान गराइएको तर, गाउँबाट आएकालाई दिनभर उभ्याइएको उनीहरुको आरोप छ ।

टिप्पणीहरू