प्रजातन्त्र मासिएको दिन र राजा महेन्द्र

प्रजातन्त्र मासिएको दिन र राजा महेन्द्र

आज पुस १,तत्कालीन राजा महेन्द्रले नेपालको प्रथम जननिर्वाचित संसद र सरकारलाई अपदस्थ गरी प्रत्यक्ष शासन शुरु गरेको दिन । त्यतिबेलाको संसद र दुईतिहाई बहुमतको बीपी कोइराला नेतृत्वको सरकारलाई २०१७ साल पुस १ गते कूू गरी महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुआत गरेका थिए ।

प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी एकतन्त्रीय पन्चसयती शासन व्यवस्था लागू गर्ने महेन्द्रको उक्त कदमपछि मुलुकमा लामो समयसम्म निर्दलीय व्यवस्था कायम रह्यो । दलहरुमाथि प्रतिवन्ध लाग्यो । वाक स्वतन्त्रता हनन हुन पुग्यो । महेन्द्रको उक्त कदमले प्रजातन्त्रको घाँटी निमोठिएको भन्दै नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टीहरुले विरोध गरेका थिए ।

अहिलेका राजनीतिक दलहरुले पुस १ को कदमलाई जनअधिकार खोसिएका दिनका रुपमा सम्झिने गरेका छन् । तर,राजावादीहरुले भने अहिले पनि पुस १ लाई युगान्तकारी परिवर्तनका रुपमा लिने गर्छन् । पुस १ को सन्दर्भमा श्री ५ महेन्द्र चीरस्मरण समितिले महेन्द्रको कदमले नेपाललाई बाह्य हस्तक्षेपबाट जोगाएर विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको दावी गरेको छ ।

“उसले पुस १ को कदम कांग्रेस विरुध्द लक्षित नभई भारतीय हस्तक्षेपका विरुद्ध भएको प्रष्टाएको छ ।”

कांग्रेस नेतृत्वको तत्कालीन सरकारले नेपालमाथि बाहिरी हस्तक्षेप स्वीकार गरेका कारण पुस १ को कदम निम्तिएको समितिले बताएको छ । मुलुकको सुदृढ एकता र बाह्य हस्तक्षेपबाट मुलुकलाई मुक्त गर्न यस्तो कदम चालिएको उसको जिकिर छ ।

समितिले राष्ट्रभन्दा माथि कुनै राजनीतिक दल नहुने भन्दै पुस १ नेपालको राष्ट्रियताको इतिहासमा अजर अमर रहने बताएको छ । राष्ट्रियताका मामिलामा राजा महेन्द्रले महान योगदान गरेको भन्दै उसले पुस १ को कदम कांग्रेस विरुध्द लक्षित नभई भारतीय हस्तक्षेपका विरुद्ध भएको प्रष्टाएको छ ।

राजा महेन्द्रको सक्रिय शासनकाल ९२०१७ देखि २८०मा चार अर्ब मात्र रकम खर्च गरेर महेन्द्र राजमार्ग, कोदारी राजमार्ग,सिध्दार्थ राजमार्गलगायत अनेकौँ राजमार्गहरु,५० औँ उध्योग निर्माण भएको,नेपालमा भूमिसुधार, राज्य रजौटा,विर्ता उन्मूलनजस्ता क्रान्तिकारी कदम चालेर रक्तपात बिना सबैलाई चित्त बुझाई शोषणरहित समाज सृजना गराउँदै मानवीय कार्यहरु लागू गरेको भन्दै समितिले महेन्द्रलाई युगान्तकारी युगपुरुषको उपमा दिएको छ ।

०१७ सालपछि जातिपाति, छुवाछुत,लिंगभेदजस्ता रोगहरुबाट देशलाई मुक्त गराएर नयाँ मुलुकी ऐन जारी हुनु,असंलग्न परराष्ट्र नीतिको सिद्धान्त अवलम्बन गरेर संयुक्त राष्ट्रसंघमा नेपालको अगुवाई गर्नु,आधुनिक चीनका शक्तिशाली नेता माउत्सेतुङ र भारतका शक्तिशाली प्रधानमन्त्री जवाहरलाल नेहरु सन्तुलित मित्रता कायम गर्न सकेर नेपालको प्रभाव राख्नुलाई महेन्द्रकालको महत्वपूर्ण उपलब्धिका रुपमा समितिले लिएको छ ।

टिप्पणीहरू