न्यायका लागि रुबीको टोली माइतीघरमा

न्यायका लागि रुबीको टोली माइतीघरमा

‘न्यायको लागि कलम चलाऊ सरकार’ भन्दै रुबी खानसहितको टोलीले आज पनि माइतीघर मण्डलामा धर्ना दिएका छन् । अपहरणपछि मारिएका विधुवा महिलाहरुको न्यायको माग गर्दै उनीहरुले अनिश्चितकालीन धर्ना तथा रिले अनशन थालेका हुन् ।

महिला अधिकार मञ्च बाँकेकी अध्यक्ष रूबी खानको नेतृत्वमा आयोजित धर्ना शरीर बन्धक बनाएर मारिएकी निर्मला कुर्मी र घरेलु हिंसाबाट पीडित नन्कुन्नी धोबीको न्यायको लागि गरिएको हो । उनीहरुले मारिएका अन्य विधुवा महिलाहरुको न्यायका साथै विभिन्न मागहरु राखेका छन् ।

विधुवा महिला निर्मला कुर्मीको हत्याको घटना तथा घरेलुहिंसा पीडित महिला नन्कुन्नी धोबीको हत्या प्रकरण छानबिन समितिले पेश गरेको र प्रतिवेदन अविलम्ब सार्वजनिक गरिनुपर्ने उनीहरुको माग छ । निर्मला कुर्मीको घटना छिटोभन्दा छिटो शुरूदेखि अनुसन्धान गरेर सत्य तथ्य सार्वजनिक गर्न उनीहरुले भनेका छन् ।

गृहमन्त्रालयको छानबिन समितिले निर्मला कुर्मीको सम्पति छानबिनका लागि दिएको सुझावलाई अविलम्ब कार्यान्वयन गरी निर्मला कुर्मीको सम्पत्ति प्रकरण सीआईबी र अनुसन्धानसहितको छानबिन समितिमा पठाउनुपर्नेमा जोड दिइएको छ ।

पटक पटक मुख्य अभियुक्तलाई संरक्षण गर्ने बाँके जिल्लाका एसपी श्यामकृष्ण अधिकारी तथा डीएसपी मदुसुधन न्यौपानेलाई विभागीय कारबाही गरियोस् भन्दै उनीहरुले धर्ना शुरु गरेका हुन्।  माग पूरा नहुञ्जेल हरेक दिन बेलुकी ५ बजेसम्म धर्ना दिइने ।

टिप्पणीहरू