फेरि ठूलो दुर्घटनाबाट बच्यो बुद्ध एयर

फेरि ठूलो दुर्घटनाबाट बच्यो बुद्ध एयर

बुद्ध एयरको ९ एनएइइ कल साइनको जहाजमा भरतपुर विमानस्थलमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गराइएको छ । काठमाडौंबाट चितवनको भरतपुर उडेको उडान नम्बर ३६० को जहाज प्राविधिक समस्याका बाबजुद पनि सुरक्षित अवतरण गरिएको बुद्धले दाबी गरेको छ ।

बुद्ध एअरका अनुसार दिउँसो सवा १ बजेको समयमा जहाज आकाशमै छँदा बायाँ इञ्जिनमा समस्या देखिएको थियो । जनआस्थासँग कुराकानी गर्दै एयरका कम्युनिकेशन मेनेजर दिपेन्द्र कर्णले चालक दलका तीन जनासहित जहाजमा सवार १९ जना सकुशल रहेको जानकारी दिए ।

जहाजमा १७ जना वयस्क, १ जना बालक र १ जना नाबालक यात्रु यात्रारत थिए । यसअघि पनि बुद्ध एअरको जहाजमा यस्तो समस्या देखिएको बताइन्छ । दुई साताअघि रातको समयमा काठमाडौंबाट भैरहवाको लागि उडेको जहाजमा समस्य देखिएको यात्रुहरुले बताएपछि उताबाट राजधानी आउन खोजेका यात्रुहरुले नाराबाजी गरेका थिए ।

प्राविधिक रुपमा समस्या देखिएको जहाजमा आफूहरु नउड्ने भनेपनि मध्यरातमा काठमाडौंमा अर्को जहाज बोलाएर भैरहवाका यात्रुलाई उडाइएको थियो । भोलिपल्ट आवश्यक मर्मत गरेपछि मात्र बुद्ध एअरको जहाज उडाइएको भैरहवा विमानस्थल स्रोतले बताएको छ ।

टिप्पणीहरू