पत्रकारहरुले पुस ५ गतेलाई कालो दिनका रुपमा मनाउने

पत्रकारहरुले पुस ५ गतेलाई कालो दिनका रुपमा मनाउने

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको दिन पुस ५ गते देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ । संगठनको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पुस ५ गतेको प्रतिगामी कदमविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रममा प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमको विरोधमा पाँच दलीय गठबन्धनका नेतालाई सहभागी गराएर अन्तरक्रिया गर्ने, एकीकृत समाजवादी पार्टीका नेताहरूसँगै विरोधसभा गर्ने र पुस ५ गते कालो ब्यानरसहित मूल सडकमा धर्ना दिने उल्लेख छ ।

बैठकका निर्णय सार्वजनिक गर्दै संगठनका महासचिव भूपराज खड्काले देशैभरका समाजवादी प्रेस संगठनमा आबद्ध पत्रकारहरु, संगठनका प्रदेश इञ्चार्ज र जिल्ला शाखाहरूलाई पुस ५ गते आ–आफ्नो क्षेत्रमा पार्टीसँग समन्वय गरेर विरोधका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।

ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते गरेको ‘कू’ सँग तुलना गर्दै संगठनले पुस ५ गतेको कदमविरुद्ध आन्दोलनमा सहभागिता जनाउन सम्पूर्ण सञ्चार जगतलाई आह्वानसमेत गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधानमाथि पटक–पटक प्रहार गरिरहेको भन्दै संगठनले अहिले पनि ढुक्क भएर बस्ने अवस्था नभएकाले सचेत हुन भनेको छ । एमालेले लगातार सदन अवरुद्ध गरेर अलोकतान्त्रिक चरित्र सार्वजनकि गरेको पनि आरोप लगाइएको छ । साथै, प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतका पाँच जना न्यायाधीशको राजीनामा मागेर एमाले अध्यक्ष ओलीले सिङ्गो न्यायालयको हुर्मत लिने काम गरेको समाजवादी प्रेस संगठनको आरोप छ ।

‘प्रतिगामी, पुनरुत्थानवादी तत्वसँग भित्री साँठगाँठ गरेर वर्तमान संविधानबाट स्थापित जनताका अधिकार खोस्ने काममा एमालेले गतिबिधि गरेको हुँदा सम्पूर्ण देशभक्त, प्रगतिशील र लोकतन्त्रवादीहरू चनाखो हुन जरुरी छ’, खड्काले भनेका छन्, ‘नेपालका प्रत्येक राजनीतिक परिवर्तनमा नेपाली सञ्चारकर्मीहरूको अहम् भूमिका भएको हुँदा पूर्णप्रेस स्वतन्त्रताको रक्षाका लागिसमेत सम्पूर्ण पत्रकार सचेत हुनु आवश्यक छ ।’

टिप्पणीहरू