एमसीसी सम्झौता पासको रणनीति अघि सार्दै गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अघि बढाउनु सरकारको दायित्व भएको बताउनुभएको छ । आज जनकपुरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा शुरु भएकाले यसलाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभएको हो ।
उहाँले एमसीसी प्रस्ताव देश विकासका लागि नेपाल सरकारले नै अघि बढाएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘नेपालको विकासका लागि नेपाल सरकारले नै एमसीसी प्रस्तावलाई अघि बढाएको हो । सम्झौता भएको धेरै भइसक्यो त्यसैले यसलाई अगाडि बढाउनु हाम्रो दायित्व हो ।’
गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋण नभई निःशर्त अनुदान भएको स्पष्ट पार्दै सरकारले नेपालको विद्युतीकरण र सडक निर्माण प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एमसीसीको बारेमा केही भ्रम पनि होलान् । यो अमेरिकी सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरेको हो । यो निशर्त अनुदान हो ।’ उहाँले एमसीसी संसदबाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरुबीच छलफल चलिरहेको उल्लेख गर्दै छलफलबाट निष्कर्ष निस्किने र अगाडि बढ्ने बताउनुभएको छ ।
टिप्पणीहरू