अछाममा पनि मोडर्ना खोप लगाउन थालियो

अछाममा पनि मोडर्ना खोप लगाउन थालियो

अछाममा कोभिड–१९ विरुद्धको मोडर्ना खोप अभियान सुरु गरिएको छ । जिल्लाका १० वटै स्थानीय पालिकामा मोडर्ना खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

कार्यालय वरिष्ठ जनस्वास्थ्य अधिृकत झनक ढुंगानाका अनुसार १२ देखि १७ वर्ष उमेरकालाई पहिलो चरणको खोप लगाइने छ ।

जिल्लाका ३ सय ४७ वटा विद्यालयका ३९ हजार ६१ विद्यार्थीलाई पहिलो चरणमा खोप लगाइने ढुंगानाले जानकारी दिनुभयो । हिजो साँफेबगर नगरपालिकाबाट खोप सञ्चालन गरिएको छ । उहाँका अनुसार आज जिल्लाका अन्य पालिकामा एकसाथ खोप लगाइँदै छ । कमलबजार नगरपालिकामा भने एक दिन ढिलो खोप लगाइने छ ।

११ पुसभित्र अछाम जिल्लाका ३९ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको ढुंगानाले बताउनुभयो ।

खोप लगाइसकेपछि कुनै रियाक्सन भएमा पहिलो चरणमा पालिकाका स्वास्थ्य शाखाले नै उपचार गर्ने र थप उपचारको निम्ति जिल्ला अस्पताल र बयालपाटा अस्पतालमा चिकित्सकको टिमलाई तयारी अवस्थामा राखिएको छ ।

टिप्पणीहरू