नौ बर्ष अड्डा जमाएको निकायबाट जो निकालिए

नौ बर्ष अड्डा जमाएको निकायबाट जो निकालिए

एउटै कार्यालयमा प्रमुखका रुपमा नौ बर्षसम्म बसेका एक हाकिम बल्ल सरुवामा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रकुमार श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै हिजो १६ जना सहसचिवको एकै लटमा सरुवा सूची तयार पार्दा तिनी पनि हेरफेर हुनेमा परेका हुन् ।

बालाजुस्थित नापतौल तथा गुण नियन्त्रण विभागमा बसेका विश्वबाबु पुडासैनीदेखि काठमाडौं महानगरपालिकाका राजेश्वर ज्ञवालीसम्म सरुवामा परेका छन् ।

सुधारवादी प्रशासकहरुलाई चार पाँच महिनामै भकुण्डो बनाइँदा पुडासैनी झण्डै नौ बर्षदेखि नापतौलमा थिए । उनलाई त्यहाँबाट तानेर बाग्मती प्रदेशको उद्योग मन्त्रालयमा पठाइएको हो । व्यापारी तथा उद्योगीहरुका बलमा त्यहाँ टिकिरहेका उनी तिनै सहसचिव हुन,जसले गत साउनमा उद्योग मन्त्रालयमा पुगेर लफडा मच्चाएको खबर जनआस्थाले सार्वजनिक गरेको थियो । मन्त्रालयमा सहसचिव बलराम रिजाल छञ्जेल मन्त्रालयमै नटेक्ने कसम खाएर उनी बाहिरिएका थिए ।

यसरी सरुवाको सूची तयार भएका सहसचिवहरुमा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई मन्त्रालयको जगेडामा राखिएको छ । त्यहाँ लोकनाथ पौडेललाई पठाउने तयारी भइरहेको सामान्य स्रोतले जनाएको छ ।

“तिनैले गत साउनमा उद्योग मन्त्रालय पुगेर लफडा मच्चाएको खबर जनआस्थाले सार्वजनिक गरेको थियो । त्यसबेला सहसचिव बलराम रिजाल छउञ्जेल मन्त्रालयमै नटेक्ने कसम खाएर उनी बाहिरिएका थिए । “

यस्तै सामान्यको प्रशासन महाशाखा प्रमुख रहेका राजीव पोखरेललाई श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । उनको ठाउँमा रघुराम बिष्टलाई लैजाने तयारी चल्दैछ । सामान्यबाट सरुवा भई श्रम मन्त्रालयमा पुगेका सचिव एकनारायण अर्यालले अहिले भटाभट सक्षम सहसचिवहरु आफू मातहत तानिरहेका छन् । केही अघिमात्र उनले सहसचिव शेषनारायण पौडेललाई भूमिबाट श्रममै तानेका थिए । यस्तै अर्का सहसचिव रमेश अर्याललाई अर्थबाट श्रममा तानेर अहिले ताहाचल श्रम कार्यालय सुधार गर्ने जिम्मेवारी दिई पठाइसकिएको छ ।

यता सरुवामा परेका अन्य सहसचिवमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकी यमुना प्रधानलाई सङ्घीय सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र प्रदेश नम्बर १ को सामाजिक मन्त्रालयका सचिव कमल भट्टराई (अर्थ मन्त्रालय) छन् । यसअघि जगेडामा रहेका देवराज जोशी उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन् । सम्भवत: उनी विश्ववाबु पुडासैनीको ठाउँमा पुग्नेछन्,शक्तिकेन्द्रहरुले नखेलेको खण्डमा । यस्तै आदिवासी जनजाति आयोगका भोला दाहाल अख्तियार र आयोगका नीराजन घिमिरे दलित आयोगमा पठाइएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव शङ्कर नेपाललाई प्राकृतिक स्रोत तथा वित्त आयोग,कलैया उपमहानगरपालिकाका तीर्थ चिलवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । केहीअघि मात्र प्रदेश नम्बर २ बाट गण्डकीका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका सहसचिव ध्रुव गैँडालाई बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा पठाउने गरी सरुवाको सूची तयार भएको मन्त्रालय स्रोतले जनाएको छ ।

टिप्पणीहरू