स्यानिटरी प्याड बाँडेपछि शैक्षिक वातावरण सुध्रियो

स्यानिटरी प्याड बाँडेपछि शैक्षिक वातावरण सुध्रियो

अझै पनि यस्ता थुप्रा जिल्लाहरु छन् जहाँ महिनावारी भएको बेलामा प्याड किन्न समेत पाईंदैनन् । विद्यालयमा पढाइ भइरहेको बेलामा टाउको, पेट दुःखेमा विद्यार्थी घरै जानुपर्ने बाध्यता अझै पनि छ ।

अछामको मंगलसैन नगरपालिका ९, वलिगाउँमा रहेको मंगला नेरा माविका छात्राले पनि यस्तै समस्या भोग्दै आएका थिए । तर, सुदूरपश्चिम सरकारले सञ्चालन गरेको एक विद्यालय एक नर्स कार्यक्रम त्यहाँ पुगेपछि भने सहज भएको बताइएको छ ।

मंगला नेरा माविको कक्षा १० मा अध्ययनरत छात्रा सृजना रावलले विद्यालय नर्स कार्यक्रम सञ्चालनपछि सहज रुपमा विद्यालयमै उपचार पाएको बताएकी छन् ।

पहिले रजश्वला हुँदा विद्यालयमा प्याड नपाउँदा समस्या हुने गरेको भए पनि अहिले भने निःशुल्क सेनेटरी प्याड पाउँदा सहज भएको उनले बताइन् । स्थानीय स्वास्थ्य चौकीमा प्याड किन्न जाँदा समस्या भएको उनको अनुभव छ । त्यसबाट अध्ययनमा समेत बाधा पुग्दै आएको उनको भनाइ छ । अहिले विद्यालयबाट निःशुल्क प्याड पाउँदा सहज भएको छ ।

सृजना मात्र नभइ सोही विद्यालयमा अन्य विद्यार्थीले समेत नर्सको व्यवस्था गरेपछि सहज भएको बताएका छन् । विशेष गरेर किशोरी र युवतीले महिनावारीको समयमा धेरै समस्या भोग्नुपरेको थियो । विद्यालयमा महिनावारी भएमा पढाई नै छाड्नुपर्ने अर्को समस्या थियो । महिनावारीकै कारण उनीहरुको पढाई धेरै दिन छुट्ने गरेको थियो ।

तर, एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन भएपछि विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आएको शिक्षक तथा विद्यार्थीहरुको मूल्यांकन छ । यसबाट समग्र विद्यालयको शैक्षिक वातावरणमा नै प्रगति देखिएको प्रधानाध्यापक भीमबहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

विद्यार्थीले मात्र नभई अभिभावकले समेत सरसफाइमा विशेष ध्यान दिन थालेको उहाँको अनुभव छ । शौचालय गएपछि साबुन पानीले हातधुने बानीको समेत अभ्यास भइरहेको छ । उहाँले महिनावारी भएको समयमा विद्यालय आउने छात्राको संख्या बढ्दै गएको जानकारी दिनुभयो ।

टिप्पणीहरू