फाइजरको ‘कोभिड चक्की’ लाई अमेरिकी मान्यता, कम तौल हुनेलाई मनाही

फाइजरको ‘कोभिड चक्की’ लाई अमेरिकी मान्यता, कम तौल हुनेलाई मनाही

फाइजर कम्पनीले उत्पादन गरेको कोभिडविरुद्धको औषधि ‘कोभिड पिल’ अमेरिकामा प्रयोग गर्न पाइने भएको छ । अमेरिकी स्वास्थ्य निकायले फाइजरको कोभिड पिललाई प्रयोगको अनुमति दिएको हो । उक्त औषधि संवन्धित व्यक्तिले मुखबाटै खान सक्छन् ।

कोभिड संक्रमित वयस्क र १२ वर्षमाथिका बालबालिकाले मात्र फाइजरको पिल प्रयोग गर्न सक्छन् । अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएका अनुसार प्रारम्भमा अस्पताल जानु पर्ने लक्षण देखिएका कोभिड संक्रमितले घरमै त्यस्ता पिल प्रयोग गर्न सक्नेछन् ।

फाइजरको कोभिड पिलले प्रयोगको अनुमति पाएसँगै मानिसले घरमै पिल सेवन गरेर कोरोना भाइरसको अति खराब असरलाई समेत कम गर्न सक्ने बताइएको छ । प्याक्सलोभिड नामक फाइजरको पिल कोभिड १९ को प्रारम्भिक संक्रमणलाई तत्काल निको पार्ने औषधि मानिएको छ ।

मिर्गौला वा कलेजोका गम्भीर समस्या भएका व्यक्तिले भने उक्त औषधि प्रयोग गर्न नमिल्ने बताइएको छ । साथै, पिल प्रयोगका लागि १२ वर्षमाथिका बालबालिकाको तौल कम्तिमा ४० किलो हुनै पर्नेछ । कम तौल भएकाले यसको प्रयोग गर्न हुँदैन भनिएको छ ।

गम्भीर अवस्थामा पुग्न सक्ने लक्षण देखिएका कोभिड संक्रमितले प्याक्सलोभिड पिल खाएपछि अस्पताल भर्ना र मृत्युको सम्भावना ९० प्रतिशतले घट्ने पनि परीक्षणबाट पुष्टि भइसकेको छ ।

टिप्पणीहरू