जीफोरविरुद्ध श्रम विभागमा उजुरी

जीफोरविरुद्ध श्रम विभागमा उजुरी

अखिल नेपाल सेक्युरिटी मजदुर संघ जीफोरएसले व्यवस्थापनविरुद्ध श्रम तथा सुरक्षा विभागमा उजुरी हालेको छ । व्यवस्थापन पक्ष मजदुरहरुको वृत्तिविकासमा अनुदार बनेको तथा श्रमशोषण गरिएको भन्दै त्यहाँ कार्यरत सेक्युरिटी मजदुरहरुले विभाग गुहारेका हुन् ।

जिफोरएस मूल कमिटीले व्यवस्थापनले श्रम ऐन कार्यान्वयन नगरेको, मजदुरहरुले खाइपाइ आएको सेवा सुविधा कटौती गरेको, नियमित रुपमा सामाजिक सुरक्षा कोषमा पैसा जम्मा नगरेको, कोषमा जम्मा गर्नुभन्दा अगाडिको उपदान, सञ्चयकोषको रकम फिर्ता नगरेको, आर्थिक हिनामिना गरेको जस्ता आरोप लगाउँदै आज विभागलाई पत्र पठाएको हो ।

पत्रमा न्यूनतम वेतनवृद्धि, ग्रेड, बिदा, उपदान, सञ्चयकोषलगायत मजदुरहरुका जायज माग पूरा गराउन विभागलाई आग्रह गरिएको छ ।

यसअघि जिफोरएसले विभिन्न ३१ बुँदे माग सम्बोधन नगरेको भन्दै व्यवस्थापनविरुद्ध आन्दोलन घोषणा गरेको थियो । माग पूरा गर्नका लागि दिएको १५ दिने, ७ दिने, ३ दिने र २४ घण्टे अल्टिमेटम पूरा हुँदा पनि व्यवस्थापन पक्षले बेवास्ता गरेको भन्दै चरणबध्द आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका मजदुरहरुले आज श्रम विभागलाई पत्र लेखेका हुन् ।

टिप्पणीहरू