चुनपहरा बचाउन ‘रक क्लाइम्बिङ’ महोत्सव

तनहुँको विमलनगरस्थित चुनपहरा जोगाउन एकसाथ जुटेका विभिन्न संघसंस्थाले ‘रक क्लाइम्बिङ’ महोत्सवको आयोजना गरेका छन् । सोमबारसम्म चल्ने महोत्सबको आज नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले उद्धघाटन गरे ।

गण्डकी अल्पाइन क्लब, नेपाल पर्यटन बोर्ड र बन्दीपुर गाउँपालिकाले संयुक्त रूपमा महोत्सबको आयोजना गरेका हुन् । चुन संरक्षणका लागि सरकारी निकायलाई दबाब दिन महोत्सब आयोजना गरिएको आयोजक संस्था गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाही ठकुरीले बताए ।

विमलनगरको चुन संरक्षण गर्दै त्यसको प्रवर्द्धन गर्न दबाब दिने उद्धेश्यले ‘रक क्लाइम्बिङ’ महोत्सव आयोजना गरेको ठकुरीको भनाइ छ । ‘विमलनगरको चुनपहरा रक क्लाइम्बिङका लागि सबै दृष्टिले उपयुक्त गन्तव्य हो । यसलाई भत्काउने होइन जोगाएर प्रवर्द्धनन गर्नुपर्छ । पहरा भत्काउन हुँदैन भन्ने सन्देश र दबाब दिनलाई महोत्सव आयोजना गरेका हौँँ’, उनले भने ।

महोत्सबमा रक क्लाइम्ब प्रतियोगिता गरिन्छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने प्रतिगोगितामा विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा जापान, नेदरल्यान्ड र नेपालका गरी ५० जनाले प्रतिस्पर्धा गर्नेछन् ।

पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्मको सडक चार लेनको बन्दैछ । तीन खण्डमा स्तरोन्नति हुने सडकको आँबुखैरेनीदेखी पोखरासम्म ८१ किलोमिटर सडक निर्माणको जिम्मा दुई चिनियाँ कम्पनीलाई दिइएको छ । सडक फराकिलो बनाउँदा बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको चुनपहरा भत्कने आशंकाले यहाँका पर्यटन व्यवसायी र पर्यटनसँग सम्बद्ध संघसंस्था सशंकित छन् ।

टिप्पणीहरू