किशोरकिशोरीका लागि मगाइएको फाइजर खोप आइपुग्यो

किशोरकिशोरीका लागि मगाइएको फाइजर खोप आइपुग्यो

किशोरकिशोरीलाई लक्षित गरि मगाइएको फाइजर खोप आज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत थप ६ लाख ६४ हजार ५० डोज फाइजर खोप आज नेपाल आइपुगेको हो ।

पुस १३ गतेदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई उक्त खोप दिइने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले बताएको छ । तर, खोपमा प्रयोग हुने घोलक पदार्थ र सिरिन्ज आउनमा ढिलाइ हुँदा खोप अभियान अनिश्चित बनेको छ ।

हाल ती फाइजर खोप टेकुमा भण्डारण गरिएको छ । फाइजर खोप माइनस ७० डिग्रीसम्म भण्डारण गर्नुपर्ने हुन्छ । यसअघि नेपालले कोभ्याक्स सुविधामार्फत् फाइजर खोपका १ लाख ६ सय २० मात्रा कार्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो । सुरुमा उक्त खोप छुटेका १२ वर्षमाथिका दीर्घ रोगीहरूलाई उपलब्ध गराइएको थियो ।

टिप्पणीहरू