पाँचथरमा पनि लिङ्देन नयाँ ढंगबाट अगाडि बढ्ने
-लेखनाथ शिकारु
पाँचथरमा स्थापित जाँतो अर्गानिक ट्रेडर्सले स्थानीय अर्गानिक कृषि उत्पादनलाई बजारीकरण गर्ने भएको छ ।
जाँतोले स्थानीय कृषिजन्य उत्पादनको प्रशोधन,प्याकेजिङ र बजारिकरण गर्ने भएको हो । बढ्दो प्रविधि र आधुनिकीकरणसँगै देशैभर रासायनिक पदार्थ मिसाइएको खाद्य वस्तुले आमनागरिकको स्वास्थ्यमा असर परिरहेको भन्दै जाँतोले यस्तो थालनी गरेको सञ्चालक भावना लिङ्देनले जानकारी दिएकी छन् ।
सदरमुकाम फिदिममा बोल्दै लिङ्देनले जाँतोले अर्गानिक उत्पादनको बिक्रीवितरण गर्न लागेको जानकारी गराएकी हुन् । ट्रेडर्सले सोझै किसानहरुबाट कृषिजन्य उत्पादन खरिद गरेर प्याकेजिङ, ब्राण्डिङ तथा बिक्री वितरण गर्न लागेको जानकारी दिएको छ ।
जातो अर्गानिकले शुरुमा कोदो, फापर,मकैको पिठो,दाल,बदाम, बेसार,सिलाम,केराउ,झ्याउ, गुन्द्रुकलगायत उत्पादनहरु हिजोबाट बजारमा ल्याएको छ । आगामी दिनमा अन्य जिल्लाका कृषिजन्य उत्पादनहरुलाई समेत लक्षित गरेर तयारी थालिएको बताइएको छ ।
शुरुमा पाँचथरको फिदिम, इलाम, झापा, मोरङ जिल्लालक्षित कार्य थालिएको हो । आगामी दिनमा आक्रामक ढंगले बजार बिस्तारमा लाग्ने संस्थाले जनाएको छ । जाँतो अर्गानिक ट्रेडर्स स्थानीय युवा सञ्चारकर्मी भावना लिङ्देन र दिपक ढुंगानाले सञ्चालनमा ल्याएका हुन् ।
टिप्पणीहरू