माओवादीमा पनि देखियो ‘बा’ प्रवृत्ति

माओवादीमा पनि देखियो ‘बा’ प्रवृत्ति

नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा पनि ‘बा’ प्रवृत्ति देखिएको छ । एमालेको सिको गर्दै माओवादीले पनि आफ्नो महाधिवेशनस्थलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठूलो ‘स्ट्याचु’ ठड्याएपछि त्यस्तो आरोप लागेको हो ।

यसअघि एमालेले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीका ठूला ठूला ‘स्ट्याचु’ राखेको थियो । महाधिवेशनलाई बिचारको बहसका रुपमा भन्दा पनि अध्यक्ष केपी ओलीको प्रचारमा केन्द्रित गरिएको भन्दै स्वयं एमालेकै कतिपय नेताहरुका असन्तुष्टि छताछुल्ल भएका थिए । माओवादी केन्द्रका नेताहरुबाट पनि एमाले महाधिवेशन ओलीको प्रचारमा बढी केन्द्रित भएको टिप्पणी सुनिएको हो ।

एमालेले असारमा गरेको विधान महाधिवेशनका बेला बिजुलीका खम्बादेखि पानीका बोत्तलसम्ममा ओलीको फोटो छाएको थियो भने महाधिवेशनस्थलमा ओलीको ‘स्ट्याचु’ बनाइएको थियो । जहाँ महाधिवेशनका प्रतिनिधिहरुले फोटो खिच्न हारालुछ गरेका थिए । चितवन महाधिवेशनमा पनि लामो वृत्तचित्र प्रस्तुत गर्दै ओलीको प्रचार गरिएको थियो ।

“महाधिवेशनलाई विशुध्द वैचारिक बहसको थलो बनाउने दाबी गरिरहेको माओवादीले पनि एमालेले ओलीमय बनाएजस्तै प्रचण्डमय बनाउन खोजेको देखिन्छ । “

महाधिवेशनलाई विशुध्द वैचारिक बहसको थलो बनाउने दाबी गरिरहेको माओवादीले पनि एमालेले ओलीमय बनाएजस्तै प्रचण्डमय बनाउन खोजेको देखिन्छ । हुन त, माओवादीले प्राविधिक पक्षलाई भन्दा बिचारको बहसलाई बढी प्राथमिकता दिने भन्दै आएको थियो । त्यसैकारण माओवादीले जनप्रदर्शन पनि गरेन भने देशी तथा विदेशी अतिथिहरुलाई समेत नबोलाउने निर्णय गरेको थियो । अस्ति मात्रै सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेपछि हिजो बिहान हतार-हतार अतिथिहरुलाई बोलाएको थियो ।

माओवादीले ‘नयाँ क्रान्तिकारी बिचार र क्रान्तिकारी पार्टी निर्माणका लागि’ आठौँ महाधिवेशन भनेको छ । विचार र संगठनको क्षेत्रमा भएका कमिकमजोरीहरुको समीक्षा र आत्मालोचना गर्दै पार्टीलाई नयाँ ढंगले रुपान्तरण गर्न महाधिवेशनले महत्वपूर्ण निर्णय लिने माओवादी नेताहरुले भन्दै पनि आएका छन् ।

महाधिवेशनको मुख्य नारा नै रुपान्तरण भनिएकाले सोहीअनुसारको व्यवहार अपेक्षित हुन्छ,र त्यसो नहुँदा प्रश्न उठ्छ । प्रश्नबाट भागेर प्रचण्डले भनेजस्तो क्रान्तिकारी रुपान्तरण सम्भव हुँदैन । त्यसैले माओवादीले भनेको रुपान्तरण भाषणमा हैन व्यवहारमा देखिनुपर्छ ।

“बाहिर स्ट्याचुसँगै उभिएर फोटो खिच्ने कार्यकर्ता त घर फर्केलान्,बन्दसत्रमा बस्ने कमरेडहरुले प्रश्न गर्ने हो कि ?”

नत्र, अध्यक्ष प्रचण्डले महाधिवेशनलाई क्रान्तिकारी रुपान्तरणको थलो बनाउने भाषण गरिरहँदा बाहिर दैलोमा ठडिएको अध्यक्षको स्ट्याचुमा फोटो खिच्न लाम लाग्ने कार्यकर्ताहरुले क्रान्तिकारी रुपान्तरणको महसुस कसरी गर्लान् ? यसले उनीहरुमा क्रान्तिकारी रुपान्तरणको आशा मर्यो कि अझै जगायो होला ?

कहिलेकाहीं अध्यक्ष प्रचण्डले भन्ने गर्नुभएको छ – शान्ति प्रक्रियामा आएसँगै माओवादीमा वैचारिक बिचलन शुरु भयो,र त्यसले आचरण र कार्यशैलीमा प्रश्न उठायो । माओवादी बिग्रनुलाई बेलाबेला उहाँ सिंह र भेडाको कथासँग जोडेर व्याख्या पनि गर्नुहुन्छ । त्यसैले ‘बा’ प्रवृत्तिका विरुद्द बोल्दाबोल्दै माओवादीमा पनि त्यहि प्रवृति बढेको हो कि ? बाहिर स्ट्याचुसँगै उभिएर फोटो खिच्ने कार्यकर्ता त घर फर्केलान्, बन्दसत्रमा बस्ने कमरेडहरुले प्रश्न गर्ने हो कि ?

टिप्पणीहरू