किन खाने काँचो बेसार ?
बेसार प्रायः सबै नेपालीको भान्सामा प्रयोग हुन्छ । यो दक्षिण एसियाली अधिकांश मुलुकका नागरिकले तरकारीलगायत भान्सामा पकाउने खानाका परिकारमा प्रयोग गर्ने भएकाले यसलाई चिनाउन थप परिचयको आवश्यकता पर्दैन ।
हामीले दिनहुँ घरमा प्रयोग गर्ने बेसार धुलोको रूपमा उपलब्ध हुन्छ । बेसारको मुख्य स्रोत अदुवा जस्तै माटोमुनि पाइन्छ । यसलाई प्रशोधन गरेर धुलो बनाएपछि बजारमा बेसारको रूपमा बेचिने हो ।
यो वर्षौंदेखि प्रयोग हुँदै आएको एक किसिमको जडिबुटी पनि हो । कुनै पनि मिसावट नगरिएको र अप्रशोधित बेसारलाई औषधिको रुपमा प्रयोग गरिन्छ । यसले स्वास्थ्यमा धेरै फाइदा पुर्याउने भएकाले पनि औषधि भन्ने गरिएको हो ।
बेसारको धुलो धेरै लाभदायक हुने प्रमाणित भइसकेको छ । तर कुनै पनि खाद्य पदार्थमा काँचो बेसारको प्रयोगलाई उत्तम मानिन्छ । काँचो बेसार प्रशोधित र प्याकेज गरिएकोमाभन्दा धेरै पोषिलो र प्रभावकारी मानिन्छ ।
काँचो बेसारलाई मुख्यतयाः जाडो याममा प्रयोग गर्दा अद्भूत स्वास्थ्यलाभ हुने विश्वास छ । काँचो बेसारलाई तातो पानी वा दूधमा अदुवा र दालचिनीको धुलोसँगै उमालेर खान सकिन्छ ।
यसको प्रयोगलाई अझ प्रभावकारी बनाउन योसँगै मरिच वा जिरा मिसाउनु झन् राम्रो हुन्छ । यसबाट पाचनसम्बन्धी समस्या निको हुन्छ भने जोर्नीको दुःखाइसमेत कम हुने प्रमाणित भइसकेको छ । साथै यसले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा समेत सुधार ल्याएको सेवनकर्ताहरुको अनुभव छ ।
टिप्पणीहरू