श्रम समस्या समाधान नगर्ने सञ्चारगृहलाई कालो सूचीमा राखिने

श्रम समस्या समाधान नगर्ने सञ्चारगृहलाई कालो सूचीमा राखिने

पत्रकारका श्रम समस्या समाधान नगर्ने सञ्चारमाध्यमहरुलाई कालो सूचीमा राखेर नाम सार्वजनिक गर्ने चेतावनी दिइएको छ । नेपाल पत्रकार महासंघले पत्रकारहरुको मासिक पारिश्रमिक नदिने सञ्चारमाध्यमलाई कालो सूचीमा राख्ने चेतावनी दिएको हो ।

महासंघको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवद्र्धन विभागको बैठकले पारिश्रमिक नदिने सञ्चारमाध्यमको बिरोधमा धर्ना समेत गरिने जनाएको छ ।

विभिन्न बहानामा सञ्चारमाध्यम र गृहले तलब नदिएको र तोकिएको सेवासुविधा समेत उपलब्ध नगराएको महासंघको ठहर छ । उक्त समस्याको तत्काल समाधान खोज्न उसले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।विभागका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा बसेको बैठकले प्रेस स्वतन्त्रता तथा अनुगमनको पछिल्लो अवस्था र श्रमजीवी पत्रकारको श्रम समस्याका बारेमा गम्भीर समीक्षा गर्दै विभिन्न निर्णयहरू गरेको हो ।

उसले सञ्चार प्रतिष्ठानले विभिन्न बहानामा पारिश्रमिक नदिएका, बेतलवी बिदामा राखिएका र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवासुविधा नदिएका श्रमजीवी पत्रकारहरूको समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चारगृहलाई पुनः आग्रह गरिने निर्णय पनि गरेको छ ।

तलब दिन अटेर गर्नेको बिरोधमा दबाबमूलक कार्यक्रम गरिने, कालोसूचीमा समावेश गरिने र आवश्यक परेमा कानुनी लडाईंसमेत अवलम्बन गर्ने प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू