आजदेखि मौसम सुध्रिए पनि वर्षा र हिमपात भइरहने
देशभर मंगलबारदेखि परेको झरी आज रोकिएको छ । झरी रोकिएपछि मौसममा सुधार आउने बताइएको छ ।
गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबारदेखि देशभर वर्षा र हिमपात भएको थियो । आजबाट क्रमशः यो प्रणालीको असर हट्दै जाने र दिउँसो घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरुले बताएका हुन् ।
अझै पनि मुलुकको मौसममा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहि थोरै स्थानमा वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानामा हल्का हिमपात भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । भोलि गण्डकी र प्रदेश १ का केही स्थानमा हल्का वर्षा र ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
टिप्पणीहरू