भोलि माधव नेपाल र भण्डारी मिल्ने
प्रतिनिधिसभा विघटन र एमसीसीका कारण उत्पन्न राजनीतिक ध्रुवीकरणले पछिल्लो समय पार्टीहरु टुट्ने र मिल्ने शृंखला नै शुरु भएको छ । संसद विघटन र एमसीसी सम्झौतालाई लिएर पक्ष–विपक्षमा उभिएका वामपन्थी शक्तिहरु ध्रुवीकृत हुने क्रम बढेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसदको सबैभन्दा ठूलो दल नेकपा विभाजित भएको थियो । त्यसयता वामपन्थी पार्टीहरुमा विभाजन र एकीकरणको सिलसिला रोकिएको छैन ।
यसैबीच साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद् माधवकुुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएको छ । कुनैबेला राष्ट्रिय जनमोर्चामा रहेका भण्डारी केही समय एमालेमा थिए । तर, एमालेले एमसीसीको पक्ष लिएको भन्दै असन्तुष्ट भण्डारीले गत वर्ष जागरण परिषद् गठन गरेका थिए ।
उनै भण्डारी नेतृत्वको जागरण परिषद् एकीकृत समाजवादीमा समाहित हुन लागेको हो । दुई पार्टीबीच एकीकरण गर्न भोलि काठमाडौंको अर्याल होटलमा एकता घोषणासभा आयोजना गरिएको बताइएको छ ।
यसअघि मंगलबार एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टीबीच पनि एकता भएको थियो । त्यस्तै, यहि साता नेकपा मसालबाट विद्रोह गरेको एक समूह माओवादी केन्द्रमा समाहित भएको थियो ।
यता, नेकपा एमालेले पनि मधेसवादी दलका केही नेतालाई पार्टीमा भित्र्याएको छ ।
टिप्पणीहरू