हिमपातले मनाङको जनजीवन र यातायात अस्तव्यस्त
मनाङमा तीन दिनदेखि अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबारदेखि परेको हिमपातले जिल्लाका विभिन्न क्षेत्रका सडक अवरुद्ध भएका हुन् ।
हिमपातले चामे गाउँपालिका–१, तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारसम्मको सडक अवरुद्ध बनेको छ । बेंसीसहर–चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध छ ।
सदरमुकाम चामे वरपरको सडक भने सुरक्षाकर्मीले हिजो खुलाएका हुन् । चामेको बजार क्षेत्रमा अवरुद्ध सडक सुरक्षाकर्मी परिचालन गरेर खुला गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।
हिउँ पन्छाएपछि पैदल हिँड्न सहज भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताउनुभयो । खड्काका अनुसार सवारी सुचारु गर्ने गरि हिउँ पन्छाउन अझै केही दिन लाग्छ ।
मनाङमा बिहान बेलुकाको तापक्रम माइनस ७ डिग्रीसम्म पुग्ने गरेको छ । जाडोले स्थानीय जनजीवन अस्तव्यस्त भएको छ ।

टिप्पणीहरू