अखिल क्रान्तिकारीका नेताद्वारा भतिजीमाथि बलात्कार प्रयास

अखिल क्रान्तिकारीका नेताद्वारा भतिजीमाथि बलात्कार प्रयास

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका एक जना जिल्ला नेतामाथि एमाले अखिलकी जिल्ला सदस्यलाई बलात्कार प्रयासको आरोप लागेको छ । बलात्कार प्रयासको आरोपमा अखिल क्रान्तिकारी रुकुम पूर्वका एक नेता पक्राउ परेका छन् ।

अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी उपाध्यक्ष तिलकराज रसाईलीलाई बलात्कार प्रयास आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक मानबहादुर बिसीले रसाईलीविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएकोले पक्राउ गरेको बताउनुभयो । आरोपित सिस्ने गाउँपालिका २, निवासी रसाइलीलाई पक्रेर जिल्ला अदालत रुकुमकोटबाट हिजो ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

उनीमाथि भतिजी नाता पर्ने १७ वर्षीया किशोरीलाई बलात्कार प्रयासको आरोप लागेको हो । गत बुधबार मध्यरातमा किशोरी सुतेको कोठामा गएर रसाइलीले बलात्कार प्रयास गरेको बताइएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुकुम पूर्वले हिजो विज्ञप्ति जारी गरेर आफ्नो संगठनको जिल्ला कमिटी सदस्यमाथि बलात्कार प्रयास भएको भन्दै बिरोध गरेको छ ।

कक्षा १० मा अध्ययनरत उनीमाथि रसाइलीले बलात्कार गर्ने मनसायका साथ हातपात तथा आक्रमण गरेको र आक्रमणबाट किशोरी घाइते भएको भन्दै जिल्ला अध्यक्ष रामचन्द्र केसीले पीडकलाई कारबाही र पीडितलाई न्यायको माग गरेका छन् ।

अखिल क्रान्तिकारी रुकुम पूर्वका जिल्ला अध्यक्ष रेवन खड्काले संगठनका उपाध्यक्षमाथि बलात्कार आरोप लागेकोले मुद्दा प्रक्रिया किनारा नलागेसम्म संगठनको जिम्मेवारीबाट मुक्त गर्ने तयारी भएको जानकारी दिए । उनले भने, ‘आज बेलुकासम्म निर्णय सार्वजनिक हुने छ ।’

टिप्पणीहरू