५ सन्तानको जीवन धान्न बाबुद्वारा नाबालिका छोरी बिक्री

५ सन्तानको जीवन धान्न बाबुद्वारा नाबालिका छोरी बिक्री

खडेरी र युध्दले विस्थापित मानिसहरूको विशाल बस्तीमा एउटी आमा अजीज गुल आफ्ना सन्तानलाई बचाउन लड्दैछिन् । श्रीमानले १० वर्षीया छोरीलाई थाहै नदिई विवाह गर्ने नाममा बेचेपछि उनी अहिले तनावसँगै मुर्छितसमेत छिन् ।

अफगानिस्तानको पश्चिम भेगकी उनी छोरी बेचिएको पीडाले बेला बेलामा विछिप्त हुन्छिन् । १० वर्षे छोरीलाई आफ्नै बाबुले बेचेका हुन् । उनको उद्देश्य छोरी बेचेवापत प्राप्त हुने पैसाले आफ्ना अन्य पाँच सन्तानलाई पालनपोषण गर्न सकुँ भन्ने बुझिएको छ । छोरी बेच्दाको दृश्य सम्झेर गुलका श्रीमान समेत बेलाबेलामा रून्छन् । यो उनको पनि बाध्यता थियो,रहर होइन भनिएको छ ।

उनले भनेका छन्, ‘पाँच सन्तान बचाउनको लागि एउटी छोरीले बलिदान दिनुपर्यो ।’ आर्थिक संकटले अफगानिस्तानमा असहाय र विपन्नको संख्या बढेको छ । पछिल्लो घटनाले जीवन धान्नै गाह्रो भएपछि पैसाको लोभमा गरिब अफगान जनताले भोगेको र पीडा र देशको दुर्दशालाई प्रष्टै देखाएको छ ।

उनीहरू यस्ता अमानवीय निर्णयहरू लिन पटक पटक बाध्य भएका छन् । गत अगष्टको मध्यतिर अमेरिकी–नेटो सेनाको फिर्तीपछि विद्रोही तालिवानले सत्ता कब्जा गर्दाताको भन्दा अहिले अफगानिस्तानको अर्थतन्त्र निकै खस्केको छ । अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानलाई आर्थिक सहायता रोकेको छ महिना हुन लागेको छ ।

गृहयुद्ध, खडेरी र कोरोना भाइरसले देशको अवस्था दिन प्रतिदिन बिग्रँदो छ । सरकारी कर्मचारीले महिनौंदेखि तलब पाएका छैनन् । अफगानिस्तानमा कुपोषण र खाद्य संकट सबैभन्दा चिन्ताको विषय बनेको छ । यो निकै विकराल रहेको विभिन्न समाचारमा जनाइएका छन् ।

राजनीतिक अवस्था पनि त्यसैगरी बिग्रेको छ । विशेषगरी बालबालिकाहरू सबैभन्दा बढी प्रभावित छन् । अधिकांश मानिस अन्नको अभावमा तड्पिरहेका छन् । बाँकी सन्तानलाई बचाउन आफ्नै छोराछोरी बेच्नसमेत उनीहरु तयार भएको देखिन थालेको छ ।

अफगानिस्तानको पछिल्लो दृश्य साह्रै दुःखलाग्दो छ । प्रायः सब्र प्रान्तमा उमेर नपुग्दै छोरीहरूको विवाह गर्ने चलन सामान्य हो । दुलाहाको परिवारले सानो उमेरकी बालिका सुम्पेको बदलामा बच्चीको परिवारलाई पैसा तिर्ने चलन छ ।

केटीहरू सामान्यतयाः १५ वर्षको उमेरसम्म आफ्ना आमाबाबुसँग बस्छन् । तर अहिले अफगानीहरू सहजै छोरी बेच्न खोजिरहेका छन् । अफगानिस्तान पुरुष–प्रधान समाज भए पनि गुलले आफ्नी छोरी बेचेकोमा श्रीमानविरूद्ध विद्रोह गरेकी छन् ।

गुल आफैंले १५ वर्षको उमेरमा विवाह गरेकी हुन् । अहिले आफ्नी छोरी कन्दी गुलमाथि भएको अन्याय अन्य छोरी–चेलीहरूमाथि नहोस् भन्ने चाहेकी छन् ।

छोरी बेचेपछि गुलका श्रीमान भने फरार छन् । तालिवान सरकारले भर्खरै जबर्जस्ती गरिने विवाहमा प्रतिबन्ध लगाएको छ । अधिकारीहरूका अनुसार अफगानिस्तानमा लाखौं मानिस भोकमरीको चर्को सामना गरिरहेका छन् ।

टिप्पणीहरू