को हुन् प्रचण्डको सूचीमा परेका ‘आर’ र ‘पि’
नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा धेरैजसो पुरानै अनुहार दोहोरिएका छन् । महाधिवेशनको अन्तिम दिन हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्ताव गरिएको २३६ जना केन्द्रीय सदस्यको नाम हलले पारित गरेको थियो । जसमा अपवादबाहेक अधिकांश पुरानै नेता दोहोरिएका हुन् ।
माओवादीको विधानमा २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । विधानले मिश्रित निर्वाचन प्रणालीका आधारमा ५० प्रतिशत खुला र ५० प्रतिशत समानुपातिक क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ । सोही अनुसार अध्यक्ष प्रचण्डले २३६ जनाको नाम अनुमोदनका लागि बन्दसत्रमा प्रस्तुत गर्नुभएको थियो । उक्त नाम बन्दसत्रले अनुमोदन गरेपछि अधुरो कमिटी घोषणा गर्दै माओवादीको आठ दिन लामो आठौँ महाधिवेशन सम्पन्न भयो ।
तर, सर्वसम्मत भनिएको केन्द्रीय सदस्य चयन विवादमुक्त भने हुन् सकेन । कमिटी चयनमा जनयुद्धकालीन पुराना र इमान्दार नेताहरुलाई पाखा पारेर प्रभावशाली नेताका परिवारका सदस्य र उनीहरु वरपरकालाई ठाउँ दिइएको माओवादी नेतृत्वमाथि आरोप लागेको छ । त्यस्तै सर्वसम्मतिका नाममा नेताको गोजीका नाम अनुमोदन गराएर माओवादीले आन्तरिक लोकतन्त्रको धज्जी उडाएको भन्नेहरु पनि छन् ।
यता, प्रदेशका दुई जना उपसभामुखलाई केन्द्रीय सदस्य बनाउने निर्णयको पार्टीभित्र मात्र होइन, बाहिरसमेत आलोचना भएको छ । अरु थुप्रै आकांक्षी हुँदाहुँदै बाग्मती र कर्णाली प्रदेशका उपसभामुखलाई केन्द्रीय सदस्य बनाइएकोमा महाधिवेशन प्रतिनिधिहरु स्वयं आश्चर्यचकित बनेका थिए । उपसभामुख पदमा रहेकाहरुलाई केन्द्रीय सदस्यमा लैजाने प्रचण्डको प्रस्ताव सुनेर आफू अचम्ममा परेको एक प्रतिनिधिले बताए ।
बन्दसत्र हलमा प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम वाचन गर्दा उनीहरुको नाम सांकेतिक रुपमा पढिएको थियो । पी. घर्ती र आर. तामाङ भनेर प्रचण्डले नाम वाचन गर्दा प्रतिनिधिहरु हाँसेका थिए । प्रचण्डले पढेको आर तामाङ बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङ हुन् । कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती विष्टलाई प्रचण्डले पी घर्ती भनेर नाम वाचन गर्नुभयो ।
संसदीय अभ्यासमा सभामुख, उपसभामुख भएको व्यक्ति पार्टीको जिम्मेवारीमा नरहने प्रचलन छ । त्यसै कारण फर्जी नामबाट उनीहरुलाई पार्टीको केन्द्रीय कमिटीमा समावेश गरिएको आरोप माओवादीमाथि लागेको छ ।
त्यसो त, माओवादी केन्द्रका नेताहरुले महाधिवेशनपछि पार्टीमा क्रान्तिकारी रुपान्तरणले फड्को मार्ने उद्घोष गरेका थिए । सोही अनुसार लामै बैचारिक बहस पनि चल्यो । तर, नेतृत्व चयनमा भने माओवादीले दावी गरेजस्तो क्रान्तिकारी रुपान्तरण भएको देखिएन । बर, अपुरो कमिटी घोषणा गरेर महाधिवेशन अन्त्य गरियो ।
अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी पनि हलबाटै निर्वाचित गर्नुपर्ने प्रतिनिधिहरुका सुझाव पनि कार्यान्वयन भएन । विधानमा केन्द्रीय सदस्यले पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । पदाधिकारी चयनका लागि आज केन्द्रीय कमिटीको पहिलो बैठक पनि बोलाइएको छ । तर, ६३ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी नै रहेकाले आजै पधाधिकारी चयन हुने सम्भावना भने न्यून छ ।
टिप्पणीहरू