प्रधानाध्यापकद्वारा विद्यार्थीको खाजा रकम हिनामिना

प्रधानाध्यापकद्वारा विद्यार्थीको खाजा रकम हिनामिना

संखुवासभाको पाँचखपन नगरपालिका–३ माक्सुवास्थित देवकोटा आधारभूत विद्यालयमा दिवाखाजाको रकममा हिनामिना भएको छ । दिवाखाजा कार्यक्रमको रकम विद्यालयका प्रधानाध्यापक दलमर्दन तिवारीले हिनामिना गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर वैद्यले दिवाखाजाको रकम प्रधानाध्यापकले हिनामिना गरेको बताएका छन् । नगरपालिकाबाट भुक्तानी लिएर खाजाको रकम कट्टी गरेर तिवारी आफैंले राखेको अध्यक्ष वैद्यको दाबी छ ।

स्थानीय मिलनकुमार आले मगरले विद्यार्थीलाई गत बैशाख १७ गतेसम्म दिवा खाजा खुवाएका थिए । सोवापत उनले पहिलो पटक ४० हजार नौ सय ५७ रुपैयाँ र अर्कोपटक ८२ हजार एक सय पाँच रुपैयाँ गरी जम्मा एक लाख २३ हजार ६२ रुपैयाँ तत्कालीन प्रधानाध्यापक दलमर्दन तिवारीमार्फत भुक्तानी लिएका थिए । तर, तिवारीले दिवाखाजा कार्यक्रमअन्तर्गत पाँचखपन नगरपालिकाबाट एकमुष्ठ एक लाख ४० हजार ६ सय ७० रुपैयाँ भुक्तानी लिएको देखिएको छ ।

गत वर्ष १६ मंसिरदेखि सुरु भएको दिवाखाजा कार्यक्रममा कक्षा ५ सम्मका ९५ जना विद्यार्थीलाई खाजा खुवाउँदै आइएको छ ।

टिप्पणीहरू