भीडको पछि नलाग्नु भन्नुहुन्छ डाक्टर भट्टराई

भीडको पछि नलाग्नु भन्नुहुन्छ डाक्टर भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसारमा कुनै पनि परिवर्तन एउटै झड्कामा पूरा नहुने बताउनु भएको छ । मुलुकको आमूल परिवर्तनका लागि निरन्तर लागिरहनुपर्ने भन्दै उहाँले आफ्नो पार्टीले त्यसको नेतृत्व गरिरहेको दाबी पनि गर्नुभयो ।

पाँचथरको कुम्मायक गाउँपालिकामा जसपाले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा.भट्टराईले आन्दोलनमा नथाकेका,नहारेका, जिउँदा मान्छेहरु नै परिवर्तनका लागि फेरि अगाडि आउनुपर्ने आवश्यकताले जनता समाजवादी पार्टी बनेको समेत जिकिर गर्नुभयो ।

समाजमा रुपान्तरण चाहने मान्छे भीडको पछि नलाग्ने भन्दै उहाँले आफूहरुका पछिल्ला राजनीतिक कदम त्यही दिशातर्फ अघि बढिरहेको पनि उल्लेख गर्नुभयो । ‘मरेका माछा पानीको प्रवाहसंगै तल बग्छन् तर जिउँदा माछा पानीको प्रवाहको विपरितमा बग्ने गर्छन्, त्यसैले समाजको रुपान्तरण गर्न भीडको पछि लागेर सम्भव छैन’, डा. भट्टराईले भन्नुभयो ।

कुनै चिज बाङ्गिए त्यसलाई सोझ्याउन अर्कोपट्टी अलि बढी मर्काईदिनु पर्ने विज्ञानको नियम सुनाउँदै उहाँले देशको राजनीतिक प्रणाली पनि बाङ्गिएकोले त्यसलाई सोझ्याउन आवश्यक रहेकोमा जोड दिनुभयो । जसपालाई त्यसको नेतृत्व गर्ने अवसर जुटाउन र संघीयता,सुशासन,समृद्धि र समाजवाद स्थापित गर्न एकजुट भएर लाग्नुपर्ने भट्टराईको भनाइ छ ।

उहाँले बिकृति,बिसंगति,अन्याय,अत्याचार र विभेदका विरुद्ध लड्ने मान्छेले समाजमा विद्यमान मूल्य मान्यता, संस्कार, प्रवृति, नियम कानुन र ऐन तथा संविधानको विरुद्ध उभिने साहस गर्न सक्नुपर्ने पनि बताउनुभयो । त्यसो गर्न सके मात्र संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समावेशिताको रक्षा गर्दै संविधान संशोधन सम्बन्धी पार्टीको मुद्दा स्थापित गर्न बल पुग्ने उहाँको ठहर छ ।

जनताको अपेक्षाअनुरुपको १० जोड एक संघीय प्रदेशसहितको समृद्ध नेपाल निर्माणका लागि बहसमा उत्रन भट्टराईले आफ्ना कार्यकर्तालाई आव्हान पनि गर्नुभयो ।

संगठन सुढृढिकरण तथा जनजागरण (सुज) अभियान अन्तर्गत बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा निर्वाचित वडाअध्यक्ष, क्याम्पस प्रमुखसहित सयौंले जसपा प्रवेश गरेका थिए । कुम्मायक गाउँपालिमा १ नम्बर वडाका वडा अध्यक्ष देबेन्द्र लावती, यासोक क्याम्पसका प्रमुख कर्ण लावती, पूर्वअध्यापक देबेन्द्र प्रसाद लावती, राप्रपा पूर्वजिल्ला उपाध्यक्ष बिश्वेश्वर बेघासहित विभिन्न पार्टीबाट सयौं कार्यकर्ता प्रवेश गरेको पार्टीका १ नम्बर प्रदेश सदस्य बुध्दराज लिम्बुले जानकारी दिनुभयो ।

आमसभामा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री रकम चेमजोङ, केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री जयराम यादव, केन्द्रीय सल्लाहकार एवं वेस्टर्न मिचिगन युनिभर्सिटी अमेरिकाका प्रोफेसर डा.महेन्द्र सुन्दर लावती, केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, केन्द्रीय सदस्य सिल्पी विशेष क्षेत्रका अध्यक्ष दलमर्दन कामी, केन्द्रीय समिति सदस्य रोसन पोख्रेल, जिल्ला अध्यक्ष लक्ष्मण लावती, महिला नेतृ शर्मिला आङ्देम्बे,गणेश चेम्जोङलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

-लेखनाथ शिकारु

टिप्पणीहरू