हिउँमा फसेका १४ मजदुरको सकुशल उद्धार

हिउँमा फसेका १४ मजदुरको सकुशल उद्धार

एक सातादेखि हिउँमा फसेका १४ जना मजदुरको हेलिकोप्टर मार्फत् सकुशल उद्धार गरिएको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका २, घुसदुङमा १४ जना मजदुरहरु सात दिनदेखि हिउँमा फसेका थिए ।

हिजो उनीहरु हिउँमा फसेको थाहा पाउने बित्तिकै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले उद्धारका लागि गृहमन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकोप्टर पठाउन पहल गर्नुभएको थियो । आज दिउँसो सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले उनीहरुको सकुशल उद्धार गरेको हो ।

हिउँमा फसेकाहरुमा १० जना पुरुष र चार जना महिला छन् । वडा नम्बर २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुनलाई उद्धार गरेर उनीहरुको गाउँ पेल्मामा छाडिएको छ ।

अहिले उनीहरुको सबैको अवस्था सामान्य रहेको बताइएको छ । सात दिनसम्म उनीहरु हिउँबाट बच्न नजिकैको ओढारमा बसेका थिए ।

गाउँपालिकाको स्थानीय सडक निर्माणमा खटिएका उनीहरु गत १३ र १४ गते बाक्लो हिउँ परेपछि बसिरहेकै ठाउँमा फसेका हुन् । बाक्लो हिउँ नपग्लेपछि उनीहरु फसेका थिए ।

टिप्पणीहरू